सूचनाको शक्ति - The Power Of Information

        

हर्क साम्पाङको पक्षमा अदातलको आदेश

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको हो ।

हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनीविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठ लगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

बुधबार न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई अध्यक्षकै रुपमा काम गर्ने बाटो खोलिदिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मेयर हर्क साम्पाङले आफूलाई स्वघोषित अध्यक्ष बनाएको, बोर्डको बैठक नबोलाएको भन्दै असन्तुष्ट बोर्डका सदस्यले बोर्डको तत्काल बैठक बोलाइ बोर्डलाई पूर्णता दिनुपर्ने, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगराउन र वैधानिक तरिकाबाट अध्यक्ष छनोट नहुँदासम्म साम्पाङलाई अध्यक्ष लेख्न रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ०६:०५