सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरले १ हजार ६० बिरुवा रोप्दैं

कोहलपुर नगरपालिकाले हरित सहरको लागि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुर नगरपालिका हाताभित्रबाट बुधबार देखी वृक्षारोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उप प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका हुन् ।

कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुर सहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिनपनि आह्वान गरेका छन् ।

नगर उप प्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षारोपण अत्यन्तै जरुरी रहेको बताईन् । उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणको लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरबासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताईन् । कोहलपुर नगरपालिकाले यो सिजनमा एक हजार ६० कोनोकार्पस प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ ।

राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनोकार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले बताए । यसैगरी नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छत्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार ०५:३४