सूचनाको शक्ति - The Power Of Information

        

अवधी र थारु भाषी पत्रकारका लागि फेलोशिप

अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वतन्त्र र समावेशी पत्रकारितालाई मुल प्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूल प्रवाहीकरण गर्नका लागि पत्रकारलाई फेलोशिप प्रदान गरिएको हो ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजनाअन्र्तगत लुम्विनी प्रदेशस्तरीय फेलोशिप कार्यक्रम शुरु भएको छ ।

लुम्विनी प्रदेशका ५ जिल्ला (बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देही)मा अवधी र थारु भाषी १५ जना पत्रकारलाई फेलोशिप कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।

उनका अनुसार अवधी र थारु समुदायका सिमान्तकृत, मुस्लिम अल्पसंख्यक, विपन्न, लोपउन्मुख चिडीमार र मगन्ता समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा दक्ष बनाउनका लागि फेलोशिप उपलब्ध गराइएको हो ।

अध्यक्ष तिवारीले अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई पत्रकारहरुले उठाएर लाभ लिनुपर्नेमा जोड दिए । यसैक्रममा फेलोशिपमा छनौटमा परेका पत्रकारहरुका लागि तीन दिने सवाल पहिचान, फिचर लेखन र खोजमुलक रिपोर्टिङ्ग कार्याशाला नेपालगञ्जमा शुरु भएको छ ।

बुधबार विहान कार्याशालाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले लोप हुन लागेको अवधी भाषाको संरक्षणमा यो फेलोशिपको कार्यक्रमले मदत पुग्ने भन्दै अवधी समुदायका सवाललाई सञ्चार माध्यममा प्राथमिकताका साथ उठाउनु पर्नेमा जोड दिए ।

सत्यतथ्यका आधारमा निश्पक्ष र स्वतन्त्र पत्रकारितालाई जोड दिँदै उनले ओझेलमा परेका पत्रकारहरुको क्षमता विकास गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव, थारु पत्रकार संघका केन्द्रीय सदस्य शम्भु थारु, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मन्तब्य राखेका थिए ।

तालिममा पत्रकारहरु शुक्रऋषि चौलागाई, युवराज पाण्डे, एकराज चौधरी, विजय बर्मा, राकेश मिश्रलगायतले अवधी र थारु समुदायका सवाल पहिचान, फिचर र खोजमुलक रिपोर्टिङ्गका पक्षका बारेमा सहजीकरण गर्नेछन् ।

संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम सञ्चालन गरेको संस्थाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवालीले बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १७:०७