सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा तीन जना गम्भीर घाइते

ठिनवाङ जिउलामा दुर्घटना भएको ट्याक्टर ।

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान जिल्लाको बागचौर नगरपालिका–२ थारमारे बजारबाट वडा न १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकाय, ४५ वर्षीय कालिबहादुर बस्नेत र बागचौर नगरपालिका १० पीपलनेटाका ५० वर्षीय लालबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार गम्भीर घाइते कालिबहादुर र लालबहादुरको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ भने चालक रोकायको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार नेपालगन्ज रिफर गरिएको छ । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:५९