कोहलपुर नगरपालिकाले क्षयरोगमुक्त पालिका घोषणा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन पालिकाभित्र एक जना पनि क्षयरोगी हुन नहुने भएकाले रोगीको पहिचान र खोजी गर्ने कार्य चलिरहेको छ ।
कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीका अनुसार रोगीको पहिचान, खोजी र उपचारका लागि नगरका चार ठाउँमा डट्स सेन्टर राखिएको छ । उनका अनुसार कोहलपुर नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्धन केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र रझेना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर रहेका छन् ।
ती सेन्टरबाट रोगीहरुले उपचार सेवा पाउँदै आएको उनले बताए । संयोजक केसीले डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने गरिएको बताए । उनले कोहलपुरमा जेठ महिनासम्म १६२ जना नयाँ क्षयरोगीको पहिचान भएको बताए ।
कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सङ्गीता सुवेदीले अझै पनि नयाँ रोगी भेटिने क्रम जारी रहेको र धेरै जनाको पहिचान हुन बाँकी रहेकाले क्षयरोगमुक्त पालिका घोषणा अभियान सफल हुन समय लाग्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्न सबैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको जानकारी दिए ।
सत्यपाटी संवाददाता । बाँके