सूचनाको शक्ति - The Power Of Information

        

सिक्टाको पानीले किसान खुसी, उत्पादन बढ्ने आशा

करिब दुई दशक अघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुसी भएका छन् । पूर्वी नहरबाट चार हजार २०० हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको सुनिश्चितता भएको छ ।

सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवका अनुसार ३७ किलोमिटर पूर्वी नहर र सो अन्तर्गतका छ वटा शाखा नहरको निर्माण कार्य सम्पन्न गरी दुई सातापहिले सञ्चालनमा ल्याइएको हो । राप्तीसोनारीका किसान जगबहादुर गिरीले फत्तेपुरसम्म आयोजनाको नहरमा पानी बगेपछि वर्षाको भरमा मात्रै खेती गर्ने बाध्यता समाप्त भएको जनाउँदै अब जुनसुकै खेती जति बेला पनि गर्न पाइएको बताए ।

यसैगरी अगुवा किसान तथा संविधान सभा सदस्य पट्टु थारूले गाउँमा सिक्टाको पानी पुगेपछि किसानको दिनचर्या बदलिएको जनाउँदै अब वर्षमा चार बालीसम्म खेती गर्न सकिने बताए । आयोजनाका निर्देशक रमेशबहादुर सिंहले अब १५ किलोमिटर मूल नहर र केही शाखा नहर निर्माणको काम मात्र बाँकी रहेकाले सो कार्य पनि छिटै पूरा हुने विश्वास व्यक्त गरे ।

पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभीसँग तीन अर्ब छ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । विभिन्न प्रकारका बाधा अडचनका बाबजुद पनि कालिका–कुमार जेभीले म्याद थप गर्दै नहर निर्माण सम्पन्न गरेको थियो । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६१–०६२ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:३५