सूचनाको शक्ति - The Power Of Information

        

चौपायालाई गौशाला छ, आहारा छैन

कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ ।

भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छिन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन् । छ वर्षदेखि यही काममा लागेकी बोहराका अनुसार चौपायालाई पर्याप्त आहारा नहुँदा समस्या भएको छ । ‘गौशालाको अवस्था दयनीय छ, खानलाई आहारा छैन ।’

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् । गर्मीको समयमा मलमूत्र व्यवस्थापन गर्न सहज भए पनि बर्सातमा भने कठिन हुने गरेको उनी बताउछिन् । ‘चौपायाका लागि ट्रस्ट निर्माणको आवश्यकता छ, यसोगरे मलमूत्रको व्यवस्थापन गर्न सहज हुन्छ,’ बोहराले भनिन् । सामुदायिक चौपायाको व्यवस्थापन गर्न समिति बनाइएको छ ।

त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ । मलमूत्र व्यवस्थापन गर्न र गोठाला गरी सात जना गौशालामा कार्यरत छन् । उनीहरुको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ । प्रतिव्यक्ति रु नौ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् ।

फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न मुस्किल हुने गरेको उनी बताउँछन् । ‘खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ,’ चौधरी भन्छन्, ‘चौपाया खान नपाएर मर्ने अवस्था छ ।’

उनले आफूहरु पाँच जना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए । चौपायाको आहाराका लागि नगरपालिकाले रु दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् । गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउँछन् ।

उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे । ‘गौशालामा २५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो,’ उनले भने, ‘समितिसित पर्याप्त पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।’

उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ । समितिले यसपटक गोबरबाट रु एक लाख २५ हजार आम्दानी गरेको छ । अझै केही गोबर बिक्री गर्न बाँकी छ । प्रतिट्र्याक्टरको रु पाँच हजारका दरले गोबर बिक्री हुन्छ । त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए ।

व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाले सुरु गरेको गौशाला पछि उनीहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको हो । नगरपालिकाले वर्षमा रु १५ लाखभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ । भजनी नगरपालिकाको मात्रै होइन, कैलालीका अधिकांश स्थानीय तहमा गौशाला बनाइएका छन् ।

त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन । निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनका नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन् । चौपाया व्यवस्थापन राम्रोसित गर्न नसकिएको स्थानीय रामप्रसाद शर्मा बताउँछन् ।

उनले भने, ‘चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउँछ ।’ टीकापुर नगरपालिकामा भने स्थानीय युवाले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन् । व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाले चौपायाको आहाराका लागि घाँस खेती सुरु गरेका छन् ।

स्रोत : राष्ट्रिय समाचार समिति
प्रकाशित मिति : २० असार २०८०, बुधबार ०९:००