सूचनाको शक्ति - The Power Of Information

        

सत्ताको छटपटीमा एमाले

संसदको दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ ।

नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो ।

सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुग्नुभएको छ ।

कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् ।

मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ । ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने लालच दिनसम्म भ्याइसक्नुभएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २० असार २०८०, बुधबार ०८:१०