सूचनाको शक्ति - The Power Of Information

        

सरकार ढाल्ने षड्यन्त्र

गृहमन्त्री हटाउन प्रचण्डमाथि दबाब, ओलीको षड्यन्त्र तुहियो

नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवास जग्गा प्रकरणको कारबाहीले सरकारमाथि जनताको विश्वास बढेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचारविरुद्धको अभियानमा आक्रामक बनेका छन् । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दह्रो साथ दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ माथि पनि कारबाही हुने डरले कांग्रेस र एमालेका शीर्ष नेताहरू अझै पनि डराइरहेका छन् । त्यही कारण एमाले अध्यक्ष केपी शर्मा ओली सरकार ढाल्नेसम्मको षड्यन्त्रमा लागेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रयोग गरेर बजेट फेल गराउने ओलीको षड्यन्त्र समाजवादी मोर्चाको गठनले तुहिएको छ । प्रचण्ड सरकारको निरन्तरता भएमा ओलीनिकट अन्य व्यक्तिहरू पक्राउ पर्ने डरले सरकार ढाल्न ओलीले कांग्रेसका नेताहरूसँग भित्रभित्रै सम्पर्क बढाइरहेका छन् ।

तर, देउवाले मानेका छैनन् । ओलीले गठबन्धन भत्काउन अन्तिममा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर आफूलाई धोका दिएको देउवाले बिर्सिएका छैनन् । त्यसमाथि शेखर कोइराला समूह यही बेला देउवालाई कमजोर पार्ने दाउमा छन् । यस्तो बेला सरकार ढाल्ने हो भने देउवा कमजोर हुने र शेखर समूह बलियो हुने देउवा समूहको आँकलन छ ।

तर, नक्कली भुटानी शरणार्थी काण्डबाट थप आफ्ना नेता जोगाउन देउवा गृहमन्त्री फेर्नुपर्ने रणनीतिमा छन् । प्रचण्डकै कुरा गृहमन्त्री श्रेष्ठले टेर्न छाडेपछि गृहमन्त्री फेरेर भए पनि कांग्रेससँगको सम्बन्ध जोगाएर गठबन्धनको सहमतिअनुसार चल्ने सोचमा प्रचण्ड देखिन्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवास जग्गा प्रकरणको कारबाहीले सरकारमाथि जनताको विश्वास बढेको छ । अरु यसपछि पनि ओम्नीको फाइल खोल्ने डरले एमाले आतंकित बनेको छ । प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै प्रचण्ड नेतृत्वको सरकारबारे भइरहेको सम्भावित संकट तत्काललाई टरे पनि कुनै पनि बेला सरकार ढाल्ने बाटो प्रतिपक्ष दलका नेता ओलीले ढुकिरहेका छन् ।

सत्ताको भरोसा नेपाली कांग्रेस पनि प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैन । विशेषगरी सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल भएर पनि महत्वपूर्ण निर्णयमा जानकारी नदिएको र कांग्रेसमाथि प्रहार गरेको भन्दै कांग्रेस सभापति देउवा प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् ।

बुधबार राति सभापति देउवाले नेता कृष्णप्रसाद सिटौलालाई सँगै लिएर बालुवाटारमा प्रचण्डलाई भेटेर चेतावनी दिएका छन् । भेटघाटको सुरुवातमै नेता सिटौलाले प्रचण्डलाई प्रश्न गरेका थिए, ‘सत्ता गठबन्धन दिगो बनाउने हो कि एकतर्फी रूपमा अगाडि बढ्ने ? यही अवस्थामा अगाडि बढ्ने भएमा आफूहरूले समर्थन कायम राख्न सक्ने अवस्था छैन ।’

निकटस्थ स्रोतका अनुसार प्रचण्डले आफू मिलेर जान तयार रहेको बताएका थिए । लगत्तै त्यसो भए तपाईको पार्टीका नेता तथा गृहमन्त्रीले कांग्रेस नेतालाई किन तारो बनाउनु भएको छ भन्ने अर्को प्रश्न तेस्र्याएका थिए ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्दा जानकारी नदिएको तथा आफू संलग्नै नभएको घटनामा संलग्न छ भनेर निर्देशन दिएको, केन्द्रीय सदस्यद्वय आरजु राणा र मञ्जु खाणलाई अनाहकमा दुःख दिएको बताएका थिए ।

अब मिलेर अगाडि बढ्न गृहमन्त्रीको परिवर्तन अपरिहार्य रहेको गर्न नसक्ने भए आफूहरू सरकारबाट हात झिक्न बाध्य हुने बताएका थिए । त्यसपछि प्रचण्डले गृहमन्त्रीको बारेमा सोच्न सक्ने बताएका थिए । नयाँ गृहमन्त्री कसलाई बनाउनुहुन्छ भनेर कांग्रेसका नेताहरूले प्रश्न गरेका थिए ।

प्रचण्डले तपाईहरूले ठीक छ भन्ने नेतालाई अघि सार्ने तयारी गरिरहेको छु भनेका थिए । स्रोतका अनुसार प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई मेसो मिलाएर गृहमा प्रवेश गराउने तयारी गरिरहेका छन् । प्रचण्डले पुनलाई वातावरण आफ्नो पक्षमा पार्नसमेत भनेको निकटस्थहरू बताउँछन् ।

प्रचण्डले पुनलाई गृहमन्त्रीमा वातावरण निर्माण गर्न गोप्य रूपमा सुझाएका छन् । त्यसपछि भर्खर चार महिना चीनमा स्वास्थ्योपचारपछि फर्किएका पुनले आफ्नो पक्षमा वातावरण तयार गर्ने केही रणनीतिहरू बाहिर ल्याइरहेका छन् ।

माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकीकरण प्रयास चलिरहेको छ । नेकपाका महासचिव विप्लवलाई माओवादीमा पनि महासचिव दिने कुरा चलिरहेको छ । पुनले विप्लवलाई महासचिव मान्न आफू र जनार्दन शर्मा तयार रहेको अन्तर्वार्ता केही मिडियालाई दिएका छन् ।

यसले उनको पक्षमा पार्टीमा माहोल बन्ने र मन्त्री बन्न सहज हुने निकटस्थ नेताहरू बताउँछन् । कांग्रेस नेताहरूले एक साताको अल्टिमेटम शैलीमा कुराकानी गरेर बालुवाटारबाट फर्किएको पनि स्रोत बताउँछ ।

देउवालाई ओलीको फोन

अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि कांग्रेससँग सत्ताको च्याखे दाउँ थापिरहेको छ । असार १५ को रोपाइ कार्यक्रममा सहभागी हुन चितवन पुगेका एमाले अध्यक्ष ओलीले १४ असारको साँझ देउवालाई टेलिफोन गरेर सत्ताको सहकार्य कोशीबाट गर्ने प्रस्ताव गरेर च्याखे दाउँ थापेका थिए ।

तर, देउवाले कोशीमा सहयात्रा गर्न अलि हतार हुने, आफूले सहकार्य गर्ने वातावरण बनाइरहेको बताएका थिए । ‘कोशी प्रदेशमा एमालेलाई सहयोग गरेर गठबन्धनको सुरुवात गरौँ’ ओलीको भनाइ उद्धृत गर्दै देउवानिकट स्रोतले भन्यो । ‘अहिले तत्काल कोशीमा सकिन्न’ ओलीलाई देउवाको जवाफ थियो ।

अर्कोतर्फ कांग्रेसका नेता डा.शेखर कोइराला, महामन्त्री गगन थापा, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाललगायतका नेता निरन्तर अनौपचारिक सम्पर्कमा छन् । अहिले प्रचण्डसँग माधवकुमार नेपाललाई गठबन्धनभित्र स्पेश बनाउनु छ ।

उपेन्द्र यादवलाई मधेश प्रदेशको सरकार सुरक्षित गर्नुछ र मात्रै असन्तुष्टिबीच सहयात्री बनिरहेका छन् । तर, सत्ता र पदको भोका देउवाको विश्वास जित्न सकेमा उनले तत्काल पार्टीमा वातावरण निर्माण गरेर एमालेतर्फ लाग्ने राम्रोसँग बुझेका प्रचण्ड गृहमन्त्री फेरबदल गरेर भए पनि कांग्रेसलाई आफ्नै पक्षमा राख्ने प्रयास गरिरहेका छन् ।

तर, गठबन्धनभित्र देखिएको असन्तुष्टि तत्काललाई टरे पनि ढुक्क हुने अवस्था नरहेको प्रचण्डले बुझेका छन् । कांग्रेसभित्र सधैंभरी माओवादी बोक्न सकिदैन भन्ने आवाज चर्को छ । देउवाकै विश्वासपात्र रहेका नेता जेल परेका छन् । गठबन्धनका अरु दलहरूमा भागबण्डाको झमेला रहेकाले सरकार लामो समय टिक्न नसक्ने धेरैको विश्लेषण छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०७:५५