प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यो साता इन्सपेक्टरको सरुवा तयारी गरेका छन् । अत्याधिक चलखेलका कारण चैतमा हुनुपर्ने सरुवा अझै हुन सकेको छैन ।
गत साता नै सरुवाको तयारी भएपनि मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारी विदेश भएकाले निर्णय भएन । अर्काेतर्फ गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका थिए ।
गृहमन्त्री तथा एआइजी स्वदेश फर्किसकेका छन् । इन्सपेक्टर सरुवामा प्रहरी महानिरीक्षक कुँवरमाथि अत्याधिक दबाब छ । एकथरीले विगतमा सरुवा मापदण्डविपरीत काजमा गएकालाई त्यही राख्न दबाब दिइरहेका छन् ।
तर, मापदण्डअनुसार उनीहरुलाई त्यहाँ राख्न मिल्दैन । सोही कारण सरुवा निस्कन नसकेको हो । सरुवा नभएपछि आइजिपीले पनि काज निकाल्न थालेका छन् । गत साता ६ इन्सपेक्टरलाई विभिन्न कार्यालयमा इन्चार्जका रुपमा काजमा खटाइएको छ ।
इन्सपेक्टर लक्ष्मण ओलीलाई इप्रका कृष्णनगर, कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु, काठमाडौं, दाताराम अधिकारीलाई इप्रका सानोपोखरा, मकवानपुर, धनबहादुर बोहरालाई तनहुँस्थित प्रहरी विद्यालय, शुभेश अधिकारीलाई इप्रका कल्याणपुर सप्तरी र दीपेन्द्र श्रेष्ठलाई इप्रका गीतानगर चितवनमा काजमा खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर, डिएसपी र एसपीको सरुवा तयारी गरेको छ । साथै बरिष्ठ सइबाट इन्सपेक्टरमा पनि बढुवाको तयारी छ । ४० पदमा २०० भन्दा धेरै प्रतिस्पर्धामा हुँदा बढुवामा पनि समस्या भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं