सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौ–नेपालगञ्जको हवाई भाडा ४५५ रुपैयाँ घट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाण्डौ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।

त्यसैगरी काठमाण्डौ–नेपालगञ्जको भाडादर ४५५ रुपौयाँले सस्तीएको छ । पहिले उक्त रुटको भाडादर ४ हजार ८९० रहेकोमा सोमबार राती १२ बजेदेखि कायम हुने गरी ४ हजार ४३५ कायम गरिएको छ ।

यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाण्डौ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।

सोमबार आयल निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १८:३६