सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प ल्याउँदैछ । कम्पनीले ट्विटरलाई टक्कर दिन आगामी बिहीवार सामाजिक सञ्जाल ‘थ्रेड’को एप लञ्च गर्न लागेको हो । कम्पनीले लामो समयदेखि सो एपमा काम गरिरहेको छ । एपमा काम पूरा भइसकेको अनि यो प्रि–अर्डरका लागि एप स्टोरमा उपलब्ध रहेको बताइएको छ ।
फोर्ब्समा छापिएको समाचार अनुसार एप सोमवार राति पहिलो पटक युरोपमा गुगल प्ले स्टोरमा देखिएको थियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले घरेलु माइक्रोब्लगिङ वेबसाइट किनेयता एप विवादमा मुछिरहेको छ । कम्पनीले हालै मात्रै ट्विट पोष्टको संख्यामा पनि सीमा तोकेको छ । ट्विटर राम्ररी चलाए दुई अर्बभन्दा धेरै प्रयोगकर्तालाई तान्न सक्ने फेसबुकका मालिक मार्क जुकरबर्गको भनाइ छ ।
ट्विटरले धेरै प्रयोगकर्ता तान्न नसकेको देखेर जुकरबर्गले यो एप ल्याउन लागेका हुन् । थ्रेडलाई मेटाले समावेशी र व्यवस्थित एपको रूपमा स्थापित गर्न खोजेको बुझिएको छ । यसले ट्विटरमा व्याप्त समस्याहरू समाधान गरेर प्रयोगकर्तालाई नयाँ विकल्प दिने आशा गरिएको छ । यो एपमा मानिसहरूले विद्यमान अनि ट्रेन्डिङ विषयहरूमा चर्चा परिचर्चा गर्न सक्ने बताइएको छ । यो एप झट्ट हेर्दा ट्विटरजस्तै देखिन्छ ।
हालैका वर्षमा ट्विटर जस्ता एपहरू आउने क्रम जारी छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रुथ सोसल, म्याष्टोडन, ब्लुस्काई यसका केही उदाहरण हुन् । तर, ‘थ्रेड’ ट्विटरको लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । मार्क जुकरबर्ग अरुको आइडिया चोरेर त्यस्तै खालको एप वा फिचर ल्याउन खप्पिस छन् । उनको पछिल्लो प्रयास कत्तिको सफल हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।
सत्यपाटी संवाददाता । काठमाडौं