सूचनाको शक्ति - The Power Of Information

        

सिंगो परिवार नै लागुऔषध कारोबारी

फाइल तस्वीर

असार १० गते जिल्ला कारागार कैलालीबाट धनगढी उपमहानगरपालिका–२ की ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परिन् । उनलाई विस्कुटभित्र लागुऔषध लगेको अभियोगमा पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा उनका छोरा ओमप्रकाश अवस्थी कैद भुक्तान गरिरहेका छन् । कैद भुक्तान गरिरहेका छोरालाई दिन ५ ग्राम ४० मिलिग्राम लागुऔषध लगेर अवस्थी कारागारमा छोरा भेट्न गएकी थिइन् ।

कमलादेवीकी बुहारी तथा ओमप्रकाशकी श्रीमतीसमेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनीमाथि पनि लागुऔषधकै अभियोगमा अनुसन्धान भइरहेको छ । सुदूरपश्चिममा लागुऔषध सेवन र ओसारपसारमा सिङ्गो परिवार नै संलग्न हुन थालेको यो प्रतिनिधि घटना हो । भारततर्फ सीमावर्ती क्षेत्रका लागुऔषधका डिलरहरूले नेपाली प्रयोगकर्ता मार्फत नेपालीमा लागुऔषधको सञ्जाल विस्तार गरेका छन् ।

प्रयोगकर्तामार्फत दैनिक ठुलो परिमाणमा लागुऔषध कैलाली र कञ्चनपुरमा भित्रिने गरेको छ । ‘कैलाली र कञ्चनपुरमा भारतबाटै लागुऔषध भित्रिने गरेको छ । ब्राउन सुगर अर्थात् खैरोहिरोइन भारतबाटै आउँछ,’ ११ वर्षसम्म दुर्व्यसनीमा फसेका तर अहिले सामान्य जीवन निर्वाह गरिरहेका युवाहरु बताउने गरेका एक प्रयोगकर्ताले भने, ‘प्रयोगकर्ताले जति किनेर ल्याउँछ त्यसको आधा यता बिक्री गरेर अर्को दिन किनेर खाने पैसा जम्मा गर्छ । प्रयोगकर्ताले नै खानेहरुको सञ्जाल बढाउन मद्दत गरेको हुन्छ ।’

धनगढीकी कमलादेवीले अपरिचित भारतीय नागरिक घरमा आएर लागुऔषध कारागारमा पुगाउन भनेको प्रहरीलाई बयान दिएकी छन् । उनले जेठ २९ कैलाली कारागारबाट सप्तरी जेल सरुवा भएका मनिष जैसवाललाई लागुऔषध दिन भनिएको बताएकी छन् । यस्तै, शुक्रवार मात्रै कैद भुक्तान गरिरहेका धनगढी–१ का करन बमलाई भेट्न गएका डोटीको बोगटान फुड्सिल गाउँपालि–६ घर भएका धनगढीमा नास्ता पसल चलाउँदै आएका भीम बोगटी पक्राउ परेका छन् ।

सेम्पुको डम्बाभित्र लागुऔषध लुकाएर बोगटी बमलाई भेट्न कारागार पुगेका थिए । प्रहरीले दैनिक लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट दुव्र्यसनीहरुलाई पक्राउ गरिरहेको छ । तर, कैलाली र कञ्चनपुरका डिलर भने पक्राउ परेका छैनन् । लागुऔषध नियन्त्रणको अभियान चलाएरै प्रयोगकर्ता, ओसारपसारकर्ता र डिलरलाई समेत समात्ने प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए ।

‘नेपाल प्रहरी लागुऔषध प्रयोग, ओसापसार र बिक्री वितरण पूर्णतया नियन्त्रण गर्न काम गरिहरेको छ । दैनिक पक्राउ पर्नेको संख्या पनि उच्च छ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरी प्रतिवद्ध भएर काम गरिरहेको छ ।’ नेपाल प्रहरीले सुदूरपश्चिमबाट चालु आर्थिक वर्षको साउनदेखि असार १५ गतेसम्म लागुऔषध मुद्दामा ७८८ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७२७ पुरुष र ६१ महिला छन् ।

यो वर्ष लागुऔषधका ४९३ मुद्दा दर्ता भएका छन् । साढे एघार महिनामा प्रहरीले गाँजा ४८ किलो ८०६ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । यस्तै, चरेस १११ किलो ३३४ ग्राम ५३४ मिलिग्राम बरामद भएको प्रदेश प्रहरीले जनाएको छ । सुदूरपश्चिमबाट यो वर्ष १ किलो ३४५ ग्राम १९२ मिलिग्राम खैरोहिरोइन बरामद गरेको हो । लागुऔषध प्रयोग, ओसारपसार र बिक्री वितरण रोक्न प्रहरीले अभियान चलाएको दाबी गरेको छ ।

यस्तै, दुर्व्यसनमआ फसेकाहरूलाई सुधार गर्न नेपाल प्रहरीले धनगढीको फूलवारीमा सुधार गृह सञ्चालन गर्ने तयारी गरिरहेको प्रहरी उपरीक्षक चौधरीले बताए । ‘हामीले लागुऔषध नियन्त्रणसँगै दुर्व्यसनीमा पनि पूरै सुधार ल्याउनुपर्छ भनेर काम गर्ने सोच बनाएका छौँ । धनगढीको फूलवारीमा सुधार गूह सञ्चालनको तयारी थालिएको छ,’ उनले भने, ‘लागुऔषधका प्रयोगकर्तासँगै कारोबारीलाई पनि समात्न प्रहरी टोली खटिएकै हुन्छ ।’

गाँजा र चरेसको स्रोत नेपालमै भए पनि खैरोहिरोइन भने भारत हुँदै सुदूरपश्चिम भित्रिने गरेको छ । सुदूरपश्चिममा भारतबाट ड्रक्सको र्याकेट सञ्चालित छ । भारतीय बजारबाट भारतीय कारोबारीले नेपालमा लागुऔषध प्रयोकर्ताको सञ्जाल निर्माण गरेर कारोबार हुने गरेको पाइएको छ । भारतीय कारोबारीलाई सहयोग गर्न कैलाली र कञ्चनपुरमा मिनी डिलर नै सञ्चालनमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १६:३८