सूचनाको शक्ति - The Power Of Information

        

यू-१६ क्रिकेटको उपाधि नेपाललाई, मलेसिया स्तब्ध

नेपाल एसीसी इस्टर्न जोन यु–१६ क्रिकेट प्रतियोगिताको लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा नेपाल मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि तेस्रो पटक कब्जा गरेको हो ।

नेपाललाई जित दिलाउन नरेनले अविजित शतक प्रहार गरेका थिए । उनले ८९ बलमा अविजित ११२ बनाएका थिए । त्यस्तै अभिषेक तिवारीले मलेसियाको पाँच विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा एक मे डन सहित ७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका हुन् ।

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा ३१ रनमा समेटिन पुग्यो । मलेसियाका एक खेलाडीले मात्र दोहोरो अङ्कको रन बनाउन सके । मलेसियाका मुहम्मद अक्रमले १० रन जोड्दा मुहम्मद रिफाईले ७ रन बनाए ।

त्यस्तै मलेसियाका पाँच खेलाडीले कुनै रनको खाता खोल्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक पाँच विकेट, सन्तोष यादवले तीन तथा अशोक धामी र सागर गैरेले एक एक विकेट लिए ।

यसअघि नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । जसमा नरेनले ८९ बलको सामना गर्दै ११२ रनमा अविजित रहे । यस्तै नीरज कुमार यादवले ४७ रनको योगदान गरे ।

नेपालका सन्तोष यादवले २६ रन बनाउँदा ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए । त्यस्तै अशोक धामी ११ रनमा आउट भए । मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिँदा हाजिज हैकल र अरिन अकिलले समान एक एक विकेट लिए ।

यसअघि नेपालले सन् २०१७ र २०१९ मा लगातार दोस्रो पटक उपाधि जितेको थियो । यो तेस्रो संस्करण हो । नेपालले यु–१६ यो प्रतियोगितामा ह्याट्रिक गरेको छ । नेपालले सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध पार्दै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १२:३७