‘हतियार चाहियो’ भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालय धाएका एकजना पूर्वमन्त्रीलाई ‘मिल्दैन’ भनी फिर्ता पठाइएको छ । पर्यटनमन्त्री भइसकेका भोजपुरे पूर्व एमाले कर्मचारी नेता कृपाशुर शेर्पा हुन्, हतियार किन्नका लागि सिफारिस माग्दै जिल्ला प्रशासन धाउने ।
उनले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयसँग हतियार खरिदका लागि गृहलाई सिफारिस गरिदिन माग गरेका थिए । तर, नयाँ हतियार खरिदको सिफारिस गर्नुअघि सोको विश्वसनीय कारण र आधार पेश गर्नुपर्ने हुन्छ ।
कृपाशुरले त्यस्तो केही पेश नगर्दा कर्मचारीहरुले सोधे, ‘किन चाहियो मन्त्रीज्यू ?’ उनले भने, ‘मलाई थ्रेट भयो ।’ तर, कहाँ, कसरी र कोबाट असुरक्षा भयो भन्ने कुराचाहिँ खुलाउन सकेनन् । बरु, पूर्वमन्त्रीका हकमा ज्यानमाथि असुरक्षा त के छिसिक्क आशंका मात्रै भए पनि सरकारले सुरक्षाकर्मी (पिएसओ) खटाउने व्यवस्था छ ।
मन्त्री नै नभएका सांसद अमरेशकुमार सिंहसँग पिएसओ हुँदा कृपाशुरले नपाउने कुरा हुँदैन । तर, उनले आफ्नो सुरक्षा आफैं गर्नका निम्ति आफैंले चलाउने गरी हतियार माग गरेका हुन् । उनले त्यसरी हतियारको लाइसेन्स माग्नुका पछाडि केही कारण हुनसक्ने गृहका एक अधिकृत बताउँछन् ।
‘योसँग हतियार छ भनेपछि थ्रेट गर्ने व्यक्ति वा समूह डराउँछन् भनेर लिन खोजियो होला’, उनले भने ‘कि त, सस्तोमा हतियार किन्ने र महंगोमा बेच्नका लागि पनि यसो गरिएको हुन सक्छ ।’ ती अधिकृत दावी गर्छन्, ‘कृपाशुरले सस्तोमा हतियार किन्दै बढी मूल्यमा बेच्ने र बेचेपछि नामसारि गरिदिने प्रयोजनका लागि सिफारिस माग गरेको हुनुपर्छ ।’
यसबीच, तराईका जिल्लाहरु ‘फिजीकरण हुने’ होहल्ला गरिए पनि काठमाडौंसहितका पहाडी जिल्लामा समेत बाबु वा आमाको जन्मका आधारमा नागरिकता माग्ने युवायुवतीको संख्या बढेको छ । सर्वोच्चबाट नागरिकता वितरणको बाटो खुल्दा आइतबार काठमाडौंमा मात्रै २५–२६ जनाले निवेदन दिएका छन् । त्यहाँबाट प्राप्त विवरणमा काठमाडौंमा जन्मका आधारमा नागरिकता लिनेको संख्या २०० हाराहारी मात्रै भेटिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं