बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाहा) मा रहेका पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु गरिएको छ ।
नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घरपरिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाण–पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्ष २०७८–०७९ को भदौमा गोश्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा–४ का करिब ५ सयको गाउँब्लकको जग्गाधनी पुर्जा तयार पारिएको छ ।
नरैनापुरमा रहेका ६ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताए। उनले ६ वटै वडामा करिब २ हजार ५०० बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
मिश्रले भने, ‘अहिले वडा–४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी ४ सय बढीलाई पुर्जा विरतणको तयारी गरिएको छ ।’ अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनले बताए ।
नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाणपुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । ‘नापी हुन बाँकी गाउँब्लकको नापी प्रक्रिया अघि बढेको छ । जग्गा नभएका सबैले पुर्जा प्राप्त गर्नेछन्,’ उनले भने ।
सत्यपाटी संवाददाता । बाँके