सूचनाको शक्ति - The Power Of Information

        

गर्मी मौसममा किन हुन्छ आँखाको समस्या ?

आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य अंग हो । मानव शरीरमा सबै अंगको आ–आफ्नै महत्व भए पनि आँखाको महत्व अरूभन्दा महत्वपूर्ण छ । सामान्य हेलचेक्र्याईँले पनि आँखाको ज्योति गुम्न सक्छ । आँखामा देखिने कुनै पनि समस्यालाई सामान्यरूपमा लिनु हुँदैन ।

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्यामा पनि बढ्ने गर्छ । यस्तो बेला प्रायःजसो आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्या धेरै नै पाइन्छ । १४–१५ वर्षका बच्चामा आँखा चिलाउने रोग गर्मीसँगै सुरु हुन्छ ।

गर्मी सकिएर चिसो मौसमको सुरुवात हुनासाथ ठीक हुन्छ । आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो देखिन्छ । त्यसपछि आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ ।

यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रूखमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, राता देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।

जसका कारण कहिलेकाहीँ नानीमा संक्रमणमा भई दृष्टिसमेत गुम्न सक्छ । आँखा चिलाउने रोगका लागि लामो समयसम्म एन्टीएलर्जीक आईड्रप्स प्रयोग गर्नुपर्ने हुन्छ । एलर्जीक कन्जन्टेभाइटिसलाई समयमै उपचार गरिएन भने आँखाको नानीको आकारलाई परिवर्तन गर्छ । आकार परिवर्तन भैसकेपछि आँखाको दृष्टि कम हुन्छ ।

यो ठीक भए पनि नानीमा खत बनाउछ र पछि गएर दृष्टि नष्ट हुन्छ । यसबाट बचाउन सुरुकै अवस्थामा उपचार गर्न जरूरी हुन्छ । आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गर्छ । आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुनिन्छ । यसमा आँखाबाट आसुँ बग्ने, चिप्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ ।

जसका कारण घाममा तथा बढी उज्यालोमा आँखा खोल्न गाह्रो हुने, दुख्नेजस्ता समस्या देखिन्छ । आँखा पाक्ने रोगको कीटाणुविरुद्ध एन्टिबायोटिक औषधि चलाउनुपर्ने हुन्छ । त्यसकारण यो रोग लागेमा समयमै चिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ । चिकित्सकको सल्लाह बिना आफैँ औषधि प्रयोग गर्दा कहिलेकाहीँ थप संक्रमण भई अन्धोपनसमेत निम्त्याउन सक्छ ।

गर्मीमा आँखा सुख्खा हुने समस्या पनि धेरै नै पाइन्छ । जति गर्मी बढ्दै जान्छ, त्यति नै आँखामा सुख्खापन आउछ । आँखाले नजीकबाट केन्द्रित भएर गर्ने जस्तै कम्प्युटर, ल्यापटप, टिभी हेर्ने जस्ता कार्यमा बढी आँखा सुख्खा हुने हुन्छ । यस्तो कार्यमा आँखाले एकनासले हेर्ने, झिम्काई कम हुने हुदा सुख्खा हुने हुन्छ ।

साथै गर्मी मौसममा धुलो धुँवा बढी उड्ने हुदा यसले आँखालाई असर गर्ने हुन्छ । वातावरणमा धुलो, धुँवाको मात्रा बढी हुनाले आँशु चाँडै बाफ बनेर जाने हुँदा सुख्खा हुने हुन्छ । यसबाट बच्न धुलो, धुँवाबाट बच्नुका साथै बाहिरी वातावरणमा काम गर्दा कालो चस्मा वा भाइजरको प्रयोग गर्नु राम्रो हुन्छ ।

सर्वप्रथम सुख्खा आँखाको समस्या हुने व्यक्तिले आफूले काम गर्ने वातावरण परिवर्तन गर्न जरूरी हुन्छ । कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ । मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृत्रिम आँशुका थोपा नियमित प्रयोग गर्न सकिन्छ ।

घाममा निस्कदा कालो चम्मा लगाउने, आवश्यक मात्रामा पानी तथा झोलपदार्थ पिउनु पर्दछ । यो समस्याको लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले चिकित्सकसँग नियमित परीक्षण गराउनुपर्छ । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो ।

यदि आँखा रातो हुने, चिलाउने तथा उज्यालोमा हेर्न समस्या हुन्छ भने आँखाको नानीमा केही खराबी भएको बुझ्नुपर्छ । आँखाको नानी संवेदनशिल हुन्छ । नानीमा अलिकता धुलो मात्र प¥यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ । यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ । गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन् ।

यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ । तर ब्याक्टेरियाका कारण भएको हो भने आँखा पाक्ने रोग सर्न सक्छ । यसबाट बालबालिका बढी प्रभावित हुन्छन् । आँखा रातो भई सुन्निने, आँसु धेरै बग्ने, चिप्रा आई आँखा टालिने, दुख्ने र धमिलो देखिने हुन्छ । यो एक्कासी देखिनुका साथै एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुन्छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार ०६:३०