सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जन्मको आधारमा ४२३ जनालाई नागरिकता

जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको विस्तारै भीड बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक ५०० सम्म मानिस पुग्न थालेपछि एक दिनमा १०० जनाको मात्र आवेदन लिन थालेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण गरिसकिएको बताए ।

प्रजिअ आचार्यका अनुसार अहिले एक दिनमा १०० जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ । कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ ।

टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।

लामो समयपछिको प्रतिक्षापछि जन्मको आधारमा वंशजको नागरिकता पाएपछि नेपालगन्जका युनुस राई निकै खुशी हुन् । उनले ढिलै भए पनि सरकारले नागरिकता दिएकोमा वर्ग लागिरहेको बताए ।

जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरुका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्नेछ ।

नागरिकता लिन आउनेको घुँइचोअनुरुप सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मारमा परेको केही सेवाग्राहीको गुनासो छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार ०६:११