सूचनाको शक्ति - The Power Of Information

        

बारबर्दिया नगरपालिकाको निर्देशन, ‘सामुदायिक विद्यालयले आफूखुसी शुल्क नलिनु’

बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुसी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।

आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (१–१० कक्षासम्म) निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा उल्लेख भएबमोजिम विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, कुनै पनि किसिमका परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क नलिन निर्देशन दिएको छ ।

त्यस्तै अपाङ्गता भएका बालबालिकाका लागि पाठ्यसामग्री शुल्क, पूर्वाधार निर्माण शुल्क, अतिरिक्त क्रियाकलाप सञ्चालन शुल्क, खेलकुद शुल्क, विज्ञान प्रयोगशाला शुल्क र कम्प्युटर ल्याब शुल्क आदिका नाममा शुल्क नलिन निर्देशन दिइएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टीकानाथ गोसाईले जानकारी दिए ।

पालिकाले आर्थिक वर्ष २०८०–०८१ मा समेत ससर्त अनुदानतर्फ २६ करोड २० लाख र आन्तरिक स्रोततर्फ शिक्षा, युवा तथा खेलकुद शाखामार्फत खर्च हुने गरी छ करोड २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

‘पर्याप्त बजेट भएकाले कुनै किसिमको शुल्क लिनुपर्ने अवस्था छैन,’ शाखा प्रमुख गोसाईले भने, ‘पालिकाले आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क घोषणा कार्यान्वयन गर्नुपर्छ ।’

हरेक वर्ष कुल बजेटको २८ देखि ३२ प्रतिशतसम्म शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको सो पालिकाले जनाएको छ । पालिकाबाट जारी निर्देशनविपरीत कोही कसैले शुल्क लिइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको चेतावनी दिएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार १९:१५