सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीसहित २५ मन्त्री नै सम्पत्ति लुकाउन उद्यत

सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आउनुभएको छ ।

प्रधानमन्त्रीसँगै उहाँको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ । भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गर्ने प्रतिवद्धता जनाउँदै आएका प्रधानमन्त्रीले आफू र आफ्नो सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राख्दै आएपछि उहाँको प्रतिवद्धतामा नै आशंका सिर्जना भएको छ ।

सामान्यतया सरकार गठन भएको ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । तर, प्रचण्ड नेतृत्वको सरकारले गठन भएको १ सय ८४ दिन (६ महिना बढी) पुगिसक्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेको छैन ।

प्रचण्ड नेतृत्वको सरकार गत ११ पुष २०७९ मा गठन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भए पनि मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्न नसक्दा सम्पत्ति गोप्य राखिएको हो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ०८:२८