सूचनाको शक्ति - The Power Of Information

        

निरन्तर ओरालोमा नेपालको प्रजनन दर

पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औंल्याएका छन्।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन्।

यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो। योभन्दा अघिदेखि नै यो दर घट्दै गएर अहिलेको तहमा आइपुगेको हो। तथ्यांकअनुसार सन् २०११ मा नेपालको प्रजनन दर २.६ थियो।

त्यसअघि सन् २००६ मा ३.१, सन् २००१ मा यो दर ४.१ र सन् १९९६ मा यो ४.६ थियो। पछिल्लो डेढ दशकको अन्तरालमा प्रजनन दर घट्दै गएर प्रतिस्थापन दरमा पुगेको विज्ञहरूले औंल्याएका छन्।

परिवार कल्याण महाशाखाका पूर्वखोप शाखा प्रमुख डा. झलक गौतमले अब जन्मदर घट्न नहुने, घटे देशलाई आवश्यक जनशक्ति नपुग्ने बताए। ‘अहिलेको दर रिप्लेसमेन्ट लेभलमा पुगिसकेको छ, अब घट्नुहुँदैन,’ उनले भने।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ०८:२०