सूचनाको शक्ति - The Power Of Information

        

कमल थापाको तर्कः समलिंगी विवाहले सामाजिक विकृति निम्त्याउँछ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिंगी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने विवादास्पद अभिव्यक्ति दिएका छन्।

बिहीवार बिहान सामाजिक सञ्जालमा थापाले समलिंगी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भएको समेत लेखेका छन्।

‘समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत भएको उनको तर्क छ। उनको बुझाइमा विवाह भनेको महिला र पुरुषबीचको पवित्र सम्बन्ध मात्र हो।

सर्वोच्च अदालतले असार १२ गते लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उत्प्रेषण जारी गरेको हो।

सर्वोच्चको उक्त आदेशप्रति भने यो समु्दायले भने खुसियाली मनाएका छन्।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ११:०१