सूचनाको शक्ति - The Power Of Information

        

मलका लागि विहानैदेखि लाइनमा किसान

बाँकेको खजुरा–४ ‘इ’ गाउँस्थित मिलिजुली वहुउद्देश्यीय कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने भएपछि विहानैदेखि किसानहरु लाइनमा बसेका छन् ।

सहकारीका अध्यक्ष खड्ग वलीले मङ्गलबार किसानलाई वितरणका लागि संस्थामा मल आइपुगेपछि विहान ५ बजेदेखि नै किसानहरु लाइनमा बसेको जानकारी दिए ।

अध्यक्ष वलीले भने, ‘युरिया र डिएपी मल किसानलाई उपलब्ध गराउन नसक्दा समस्या भएको छ, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल सहकारीलाई दिएमात्रै किसानलाई मल दिन सकिन्छ ।’

५५३ जना सहकारी सदस्य भएको सहकारीमा यसपटक १७५ बोरा युरिया र ७५ बोरा डिएपी प्राप्त भएको बताउँदै वलीले सहकारी बाहिरका ब्यक्तिलाई समेत मल दिनुपर्ने भएकाले अपुग भएको बताए ।

सहकारीमा मल नपाइएपछि लाइनमा बसेका कतिपय किसान खाली हात घर फर्कनेगरेका छन् । मल पाउन किसानबीच ठेलमठेल हुने गरेको छ । कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा १०७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

बाँकेमा साल्ट ट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगन्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्तीसोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा युरिया मल मौज्दात रहे पनि सम्पूर्ण मल सहकारीलाई नदिइएको गुनासो सहकारी संस्थाको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ०७:०२