सूचनाको शक्ति - The Power Of Information

        

अल्लालाई खुसी पार्न कुर्बानी

आज बकर इद, सार्वजनिक बिदा, राष्ट्रपतिले दिए शुभकामना

यस पर्वमा अल्लालाई खुसी पार्न धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।

धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग (जत्रत) मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरुले कायम राखेको पाइएको छ ।

निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मत्रत (दुवा) माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुसी भएनन् । अन्तममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुसी गराउन खोजे पछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको बतइन्छ ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । भोलि पर्व मनाउनका लागि मुसलमान समुदायक तयारीमा जुटेका छन् । गएको वर्षमा बकरिद पर्व असार २६ गते परेको थियो । इस्लाम धर्मअनुसार प्रत्येक वर्ष अरबी क्यालेन्डर अनुसार १०–१० दिनपछि सर्दै जाने भएकाले ३६ वर्षको अवधिमा सबै चाडपर्वले एक फन्को लगाइसक्छ । यस पटक नेपालबाट एक हजार ४४४ जना हज गर्न साउदीको मक्का पुगेका छन् ।

बकरिद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रुपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ । बिना मोलमोलाई खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरुले सके घरका सबै मानिसहरुको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ । ठूलो जनावरमा (राँगा, भैँसी, ऊँटजस्ता जनावर) हलाल गरिन्छ त्यसमा सातजना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ ।

कतिपय मानिसहरुले मृतात्मा (बुबा, हजुर बुबाआमा, पत्नी वा पति)को संझनामा कुर्बानी दिने गर्दछन् । अरब देशमा आज मनाइएको बकरिद नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा भोलि मनाइने भएको छ । किनकि यी देशका नागरिकहरुले अरब देशको भन्दा एक दिन पछि चन्द्रमा हेर्न पाएका हुन्छ । यो चाडको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना

बकर इदको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभुषाको विविधता रहेको हाम्रो मुलुकमा बकर इद पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ, हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार ०६:३७