सूचनाको शक्ति - The Power Of Information

        

सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताउनुभएको छ ।

बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनइसकेको बताउनु भयो ।

उहाँले स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको पनि बताउनु भयो । उहाँले बिरामी नभएकाहरुलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको बताउनु भयो । बीमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागू भएको बताउनु भयो । उहाँले १० प्रतिशत विपन्न, गरीवहरुलाई निःशुल्क उपचार गर्नेकुरा लागू गर्न स्थानीय सरकारलाई निर्देशन दिइसकेको बताउनु भयो ।

मन्त्री बस्नेतले जसअन्तर्गत वीर अस्पतालले ७ सय बेड निःशुल्क गरेको बताउनु भयो । त्यस्तै कोशी अस्पतालले ३ सय ३० बेड, कान्ति बाल अस्पतालमा २२८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड, प्रसुती गृहमा ४५० बेड, शहीद गंगालाल हृदय रोग केन्द्रमा ९० बेड र ट्रमा सेन्टरमा १५० बेड गरी जम्मा २ हजार २८ शैय्या विपन्न, गरिबहरुको उपचारका लागि छुट्याइएको बताउनु भयो ।

मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकहरु कार्ड नै बनाएर दिइसकेको र अन्य विपन्नलाई भने वडाको सिफारिसमा उपचार हुने व्यवस्था गरेको बताउनु भयो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १९:१८