सूचनाको शक्ति - The Power Of Information

        

पशुपतिनाथको जलहरीको भित्री भागमा क-कसको नाम राखियो ?

पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीको सुनको तौल यकिन हुननसकेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको थियो ।

पशुपति क्षेत्र बिकास कोषको तत्कालिन व्यवस्थापनले १०८ किलोग्राम सुनले जलहरी बनाईएको दावी गरेपनि ९६ किलोग्राम ८२२ ग्राम मात्र तौल पुगेको थाहा भएको छ । बाँकी नपुग सुन कता बेपत्ता भयो भनेर अख्तियार टोलीले प्रश्न गरेपछि तत्कालिन व्यवस्थापनका पदाधिकारी र सदस्यहरुको पसिना छुटेको एक जानकार सूत्रले बताएको छ ।

गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेतको रोहबरमा सुनको जलहरी जोखिएको थियो । दर्शन गर्न आएका भक्तजनहरूलाई पनि मुल गेटमै रोकेर सुन जोखिएको थियो ।

जलहरी १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी हालेको दावी गरिएकामा महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएको भनिएको पुष्टि नहुने भनेर त्रुटी औंल्याएपछि बहस सुरु भएको थियो । त्यसपछि यो बिषयले संसदका दुवै सदनमा जोडतोडले होहल्ला भएको थियो ।

जलहरीको भित्री भागमा क–कसको नाम ?

यसअघि कहिल्यै नचलेको चलन सुरु गर्दै जलहरीको भित्रीभागमा राष्ट्रपतिदेखि निकटस्थ परिषद सदस्यको समेत नाम राखिएको परिषद सम्वध्द सूत्रले जानकारी दिएको छ । आराध्यदेव शिवको गर्भगृहमा राखिएको जलहरीको भित्रीभागमा कहिल्यै पनि कसैको नाम उल्लेख नगरिएको सूत्रको भनाई छ ।

तर यसपटक जलहरी राख्दा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, कोषका सदस्य सचिव प्रदीप ढकाल र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहित केही परिषद सदस्यहरुको समेत नाम कुँदिएको थाहा भएको छ ।

तत्कालिन प्रधानमन्त्री ओली मूलकर्ता भै राखिएको जलहरी तत्कालिन राष्ट्रपति भण्डारीले सभक्ति अर्पण गरिएको विवरण त्यहाँ राखिएको ताम्रपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १८:५५