सूचनाको शक्ति - The Power Of Information

        

गोठालाहरुको जीवन

खप्तडको गाईगोठका धनमति र राममाया

पक्कै मान्छे सपनाविहीन त नहोलान् । आ–आफ्नै सपना होलान् । जीवनवृत्तिको कुनै योजना वा रणनीति त अवश्य छैन होला, तर गाईभैंसी धपाएर जीवन रमाउनेको मनभित्र पनि अवश्य मानवीय जिजीविषा होला ।

कुनै कुनै साँझ यस्तो हुन्छ, उज्यालो दिनको शुरुआती भन्दा पनि अलौकिक लाग्छ । आजको साँझका लागि हिजो विहानदेखिको पैदल यात्रा शुरु भएको थियो । पश्चिमतिर घाम ढल्केसँगै यी पहाडका चुचुराहरुमा लम्बिदै विलाउने छायाँ, वाच्छा, पाठा र पाडाहरुको क्रिडाले मन चञ्चल बनाएको छ ।

ठिंग्रिङ्ग परेका पुराना रुखहरुको च्यापबाट एउटा सानो पाडो उफ्रेर आयो । त्यसका पछिपछि एकजना महिला आइन् उनको काँधमा एउटा लामो काठको मुडो थियो । त्यसपछि एक हुल भैँसी र पाडाहरु आए । लामो काठको सुकेको ठूटो काँधमा बोकेर आएका आइत रावलले ठूटो भूइँमा बजार्दा छेउमा चरिरहेको भैंसी तर्सेर दश मीटर जति टाढा भाग्यो ।

यो स्वर्णिम दिनको अन्ततिर पश्चिमतिरको आकाश पुरै रातो भएको छ । डाँडामा ठडिरहेको सुकेको अग्लो रुखको टुप्पामा रातो घामको प्रकाश देखिन्छ । भूईंमा अग्ला सुकेका रुखका लामो छायाँ लमतन्न देखिन्छन् । ती छायाँले बनाएका आकारहरुमाथि गहिरिए अनेक मूर्त र अमूर्त कल्पनाका चित्र देखिन्छ । कतै मान्छेका स्वरुप कतै जनावर र अमूर्त स्वरुप ।

स्वच्छ आकाश, गाढा नीलोपनाले आकाशको गहिराई विचरण गर्न निकै गाह्रो पर्छ । एउटा वाख्राको पाठो आएर भरखर भूँइमा पछारेको मूडाको एकछेउमा चड्यो । चारवटै खुट्टाहरु एकै ठाउँ टेकेर उ मुश्किलले उफ्रन सफल भयो । अर्को पाठो आएर त्यही मुडाको अर्को छेउमा चड्यो मुडा एक्कासी ओरालो गुडुल्कियो । आइतले पाठालाई धपाउँदै मुडा समातेर माथितिर राखे ।

आइतले लगाएका सुरुवालले भूँइको माटोलाई स्पर्ष गर्दा उस्तै रंग मिलेको देखिन्छ । शायद दिनभर सुरुवालले माटोसँग धेरैपटक साक्षात्कार गरेको रहेछ, सिमसार क्षेत्रमा गाइबस्तु धपाउँदा सुरुवाल त के मान्छे नै भासिन सक्ने अवस्था पनि त होला । चिल्ला भैंसीको छालाजस्तो थुम्कामाथिको एउटा जीवन । सपनाहरुको लम्बाई कति होला त्यो थाहा पाउन त प्रत्येक गोठ मालिकको दिमागको अन्वेषण गर्नुपर्ला ।

पक्कै मान्छेहरु सपनाविहीन त नहोलान् । आ–आफ्नै सपना होलान् । जीवनवृत्तिको कुनै योजना वा रणनीति त अवश्य छैन होला, तर गाई र भैंसी धपाएर जीवन रमाउनेहरुको मनभित्र पनि अवश्य मानवीय जिजीविषा होला । आइतको गोठभित्रका गाई, भैँसी र वाख्राहरुको स्वास्थ्य नै आइतको खुशी हो । सर्लक्क परेका वाख्राका पाठा, दुँधेरोभरि दूध दिने गाई, घिउ निकै राम्ररी लाग्ने भैँसी आइतको सपना हो ।

यही सपनाबीच आइत र अरु गोठवालाहरुको जीवनको घडी चल्दोरहेछ । पश्चिम आकाशको रातोपना नविलाउँदै पल्लो गोठकी ८१ वर्षिया धनमती रावलले भैंसी दोइसकेकी थिइन् । पारीपट्टिको डाँडामा गोठभित्र बाहेक सवै काम गरेको वारिपट्टी थाह हुन्छ । नून, मकै, भूटेको गहुँ र रोटीको पीठो पैँचो चल्छ । गोठको कुनाको अगेनाको आगो कहिल्यै निभ्दैन ।

खरानीभित्र काठको मूडो गाडेपछि सधैँ आगो ज्यूँदो रहन्छ, केही गरी निभिहाल्यो भने अगुल्टो पनि पल्लो गोठबाट सहयोग लिने हो । हातको घडी वा मोवाइल हेर्न धनमतीलाई आउँदैन उनी त्यही वूढो रुखको टुप्पाको घामलाई विचार गरेर भैंसी दुहुन्छिन् । उनले वाल्टिन बजाएर गाइ र भैँसी दुहुन थालेपछि पल्लो थुम्कोका गोठमा पनि चहलपहल शुरु हुन्छ ।

दिव्यभूमि खप्तडको भूवनोटको सुन्दरता सँगै यसमा चरिरहेका निश्चल घरपालुवा जनावरको आफ्नै सुरम्यता छ । रातभर स्याल र फ्याउरो कराउने पाटनहरुमा दिनभर गाई भैंसी वाख्रा र घोडा चरिरहेका हुन्छन् । कतै कतै कस्तूरी लगायतका हिमाली गहनाहरु कुदिरहेका देखिन्छन् । आफू ३ वर्षको हुँदादेखि खप्तडमा गाइगोठ जाने गरेका आइत अहिले ३८ वर्षका भए । हरेक चैत वैशाखको महिनादेखि भदौ असोजसम्म उनको वास यो सुन्दरभूमि खप्तडमा हुन्छ ।

उनको गाइ भैंसी र वाख्राहरु छन् । वाख्रा त गनेर साध्य पनि हुँदैन । कहिलेकाहीँ विषालु घाँस खाएर मर्छन् । तर अधिकांश जनावर गाउँ फर्काउने वेलासम्म निकै नै वलिया र दुधालु भैसक्छन् । के गाईवस्तुको स्वास्थ्य, तिनीहरुको प्रकृतिसँगको सामीप्य र मानिसको अटल खुशीको कुनै कारण छ त? आईतको जीवनमा त्यो सोच्ने फूर्सद भएको छैन । धनमतीसँग यो उमेरसम्म एउटा अटल विश्वास बाँचेको छ, ‘यो दिव्य शक्तिको परिणाम हो ।’

हुन पनि हो, खप्तड आफैंमा तीर्थ र अनुपम भूमि हो । यो उचाइका घाँसे मैदान उर्वर माटो नजिकको कलकल वग्ने पानीका मुहानहरु र वरिपरिका ठूला जंगल यस क्षेत्रको विशेषता हो । खेचरादि पर्वतका रुपमा शाष्त्रमा वर्णित यस भूमि हुँदै पाण्डवहरु स्वर्ग प्रस्थान गरेका थिए । धार्मिक आस्थाका स्थानहरु, खप्तड बाबाको वैचारिक विम्व सहितको पहिचान भएको यस क्षेत्रमा गाइगोठको ठूलो महत्व छ ।

वरिपरिका वझाङ, वाजुरा, डोटी, अछाम गरी चार वटै जिल्लाबाट हिउँदमा घरपालुवा जनावर चराउन ल्याउने चलन आदिकालदेखिकै हो । करिव २२५ वर्ग किमी क्षेत्रफल रहेको खप्तड राष्ट्रिय निुकञ्जका पाटनहरु अनगिन्ती छन् । चार वटा जिल्लाका वासिन्दाहरुको चरनको क्षेत्रपनि फरक फरक छ । आफ्नो क्षेत्रबाट नजिकका घाँसे मैदानमा आफ्ना गाइवस्तु राख्ने गरिन्छ । खप्तड क्षेत्रको सवैभन्दा महत्व बोकेको सहश्रलिङ्ग दर्शन गर्न उक्लँदा वाटामा गाइगोठ बनाइरहेका अछामका एकहुल मानिसहरु निकै प्रफुल्ल देखिन्थे ।

उनीहरु भरखर गोठ बनाउँदै थिए । एउटा गोठको भित्र एकजना महिला आलु काट्दै थिइन् । उनी आलुलाई हलहलेको डाँठसँग मिसाएर पकाउने तयारी गर्दै थिइन् । अछामी गोठमालिकहरुको पनि हरेक साँझ आइत र धनमती आमाको झैँ वित्छ । थुम्कामाथि काठको बार लगाएर खरले छाएको लामो कटेरो तथा गोठ देखिन्छ । गोठको इन्जिनियरिङ र वास्तुकला अनुपम छ । एक ढोके वलियो कोठामा बाख्रा, अर्को एक ढोके कोठामा गाइ र अर्को उस्तै एककोठामा भैंसी ।

भैंसी वा गाइको डुँढतिर ढोका राखेर एक कुनामा वाछावाछी वा पाडापाडी राख्ने र त्यहीँ एक कुनामा मानिस खाने र सुत्नै वैज्ञानिक गोठ बनाइएको छ । पाडावाछा र मान्छे बस्ने कोठाको ढोका भने गाइ वा भैंसीको डुँढतिरवाट जानेगरी बनाइएपछि कुनै शत्रु वा जंगली जनावर आएपनि गाइ वा भैंसीले भित्री कोठामा छिर्न नदिने रहेछ । वाछावाछी र मानिसको सुरक्षा अत्यन्त बैज्ञानिक ढंगबाट यसरी नै गरिएको रहेछ ।

हुन त त्यस खुल्ला थुम्काहरुमा खासै जंगली जनावर आउँदैनन् । सवैभन्दा धेरै आउन सक्ने स्याल हो तर स्यालको आहारा हुनसक्ने वाख्राका लागि सुरक्षित कोठा तयार हुन्छ । वरिपरि काठको फलेकले वारिएको गोठ आकाशतिर परालको न्यानो छाना । आकाशबाट हेर्ने हो भने पाटनको वीचको थुम्काहरुमाथिको गजुर जस्ता देखिने गोठ । अधवैंशे युवती राममाया गोठमा एक्लै बस्छिन् । उनलाई केही कुराको डर छैन यो दिव्यभूमि आफैँमा सुरक्षित स्थान हो ।

उनको बाख्रा आजसम्म कुनै जनावरले खाएको छैन विरामी पनि परेको छैन । बरु तीन महिनामा बलिया बलिया भएर जाने गरेका छन् । उनी बुवा आमालाई सघाउन आएकी । तर, गाउँमा भरखरको हावाहुरीले घरको छानो उडाएपछि बुवा र आमा घरतिर लागे । गाउँ जाँदा डोकोमा मोही र घिउ बोकेर फर्कने चलन छ । उनको भन्दा नजीकैको गोठमा छिमेकीहरु बस्छन् । खप्तडको पाटनमा गाईभैंसी चराउने र घिउ वेच्ने अनन्तकालदेखिको चलनलाई आधुनिक युगमा निरन्तरता दिने यिनिहरुको जीवनचर्या कसरी वर्णन गर्ने ?

के यिनीहरुलाई शहरी सपनाले तानेको छैन ? अंग्रेजी पढाइ हुने बोर्डिङ स्कूलले तानेको छैन? करिव आधावर्ष यो पाटनहरुमा रमाउने मनस्थितिमा विदेश घुम्ने र गोजीभरि पैसा कमाउने सपना घुसेको छैन ? आइतको जीवनको ३८ हिउँदले गाइबस्तु छाडेर शहरी नोकरी गर्ने सपना बनाउन सकेको छैन ? तर, सत्य यो पनि हो, खप्तडको जमिनलाई आधावर्ष मलसिञ्चित गर्ने र त्यहाँको अमृतमय उत्पादन शहर र गाउँ पठाउने यो दिव्यकार्य गर्ने यिनिहरुको जीवन साँच्चै समाजसेवाको नमूना हो ।

अनगिन्ती प्रकारको जडिवूटी खाएर बनेका घिउको स्वादको वर्णन कसरी होला । जंगलमा स्वतस्फूर्त चरेका गाइको दूध खाएका असी नब्वे बर्षका मानिसहरु डोकोमा मोही बोकेर विहानै गाउँतिर लाग्छन् । घिउभने सवैको जम्मा गरेर नजीकैको शहरी क्षेत्रमा बेचिन्छ । साँझ झमक्क परिसक्दा आकाश झन उज्यालो झैँ लाग्थ्यो । शुक्लपक्षको जून, वरिपरिका ताराहरु । आकाशतिर फर्केर हेर्दा देखिने मिलेका तीनतारा आजकाल पनि ज्यूँदै रहेछन् ।

केटाकेटी हुँदा देखेका ती ताराहरुको अवस्थिति पनि उस्तै रहेछन् । पूर्वी नेपालको खेतवीचको गाईगोठबाट हेर्दा देखिने ती वाल्यकालका ताराहरु सुदूरपश्चिमको गाइगोठबाट दशकौँ पछि हेर्दा पनि उस्तै देखिँदा रहेछन् । शायद यी ताराहरु त पाण्डवले पनि देखेका थिए होला । अर्वौँ वर्ष पहिलेदेखि अटल छन् कि हाम्रो जीवनमा देखिएका हुन् । सोच्दै गर्दा मन निकै चञ्चल हुन्छ । आकाशको उज्यालोमा रमाउने युग आज अनुभव गरियो । टुकी बत्तीको साहारा पनि नलिइकन एकहिउँद विताउने गाइगोठ मालिकका जीवन कति रमाइलो होला ?

अर्को गोठको चूल्हाको वास्तु हेर्ने रहर जाग्यो । सरासर गोठभित्र नयाँ मान्छे पस्दा उनीहरु खासै अचम्मित पनि भएनन् । पचपन्न वर्षिया धनमायाले एउटा ढुँगे चुलोमा दुध तताइन्, अर्कोमा घिउ तताइन् । गाइ र भैंसीको दुध एकै भाँडोमा हालिने भएकाले घिउ पनि मिश्रित हुन्छ । धनमायाका अनुसार यो गाइगोठ स्थायी हो । ‘पुसदेखि करिव तीन महिना झण्डै पाँचफिट जति हिउँ पर्छ त्यसपछि विस्तारै गोठपनि हिउँबाट निस्कन्छ । उनको वयान संक्षेपीकरण गर्दा, ‘चैत बैशाख लागेपछि हामी आउँछौँ र गाइगोठ सम्हाल्छौँ । मेरो गोठ कसैले दावी गर्दैन किनकि यसका लागि मैले राष्ट्रिय निकुञ्जलाई पैसा तिरेको हुन्छ ।’

गोठका लागि पाँचसय वुझाउने रहेछन् । चरनका लागि पनि केही रकम निकुञ्जलाई तिर्नुपर्छ । गाइ बाहेक भैंसी वाख्रा लगायतका जनावरको निश्चित रकम तिर्नुपर्छ । ‘गौमाताको भने तिर्नु पर्दैन’ मनमायाले भनिन् । त्यसैले गाइको संख्या पनि बढी नै देखिन्छ । हामीलाई पनि गौमाता भन्दै मन प्रफुल्ल हुन्छ । यो विश्वास भन्ने चिज कस्तो हो । गाइको गोठमा बसेपछि कुनै किसिमका भूतप्रेतको डर मुक्त भइन्थ्यो केटाकेटी वेलामा । लाग्छ, यी गाइका त गहुँत पनि औषधि हुँदो हो । दिव्यभूमिको खुल्ला चौरमा रहेका जडिवूटी खाएका गाइका गहुँत आफैंमा अमृत हुनुपर्ने हो ।

जनावरका लागि दिनभर घाँससँग पानी खाने ठाउँहरु पनि छन् । सहश्रलिङ्गबाट आएको गंगा जमुना नामक उत्तर बााहिनी नदीहरु फाँटका चेप चेपबाट वगिरहेका छन् । यसका साथै कतिपय सिमसारहरुमा गाइवस्तुलाई पिलाउन कुवा वनाइएको छ । अत्यन्त शीतल भूमिमा घाँसमा रहेको जलत्व पनि पर्याप्त हुनसक्छ गाइबस्तुका लागि । जव घाम डुव्न थाल्छ सवैको एउटा पीडा छ । गाइवस्तु सकुशल घर फर्किए वा फर्किएनन् । बन्यजन्तुले आक्रमण गरे कि गरेनन् ।

विशालु जडिवूटी खाएर विरामी परे कि परेनन् । वाख्राका पाठाहरु झाडीतिर अल्झे कि अल्झेनन् । यस्ता अनगिन्ती प्रश्नहरुले हरेक साँझ मनमाया, धनमाया र आइतहरुलाई सताइरहन्छ । आफ्ना सवै बस्तुभाउको सूचना नमिलेसम्म उनीहरुको वेलुकाको रोटी पाक्दैन । साँझमा कोदो वा गहुँको रोटी पाक्छ सवैको चूलामा । वाक्लो दही र दूध त कसैको खानामा छुट्दैन । साथमा गाइगोठ वरिपरि उम्रेका हलहलेका डाँठको तरकारी । गाउँतिरबाट ल्याएको आलु पनि थोरैतिनो मिसाइन्छ । तर आलु त्यति धेरै हुँदैन ।

डोकोभरी मोही लगेर गाउँ झर्दै गरेका दिलबहादुर महराले अघिल्लो विहान भनेको याद छ । ‘गाउँमा के पाइन्छ र हाम्रा लागि ? सवैथोक पाइने यही खप्तड हो ।’ गोठमा फर्कँदा नजीकको बजारबाट चामल र गहुँको पिठो बोकेर आउने हो । यतिवेर गंगा दशहरा मेला हेर्ने रौनक भएकाले कतिपय गोठमा मसिना केटाकेटी पनि झुम्मिएका छन् । मेला समयमा नजिकका जिल्लामा विद्यालय बन्द हुने चलन रहेछ । अगेना छेउमा वाख्राको पाठो वोकेर बसिरहेका छ कक्षामा पढ्ने विनोद रावलले भने ‘मेरो स्कूल छुट्टी छ ।’

उनका साथमा एक भाइ र सानी बहिनी पनि थिइन् । उनीहरु गाउँबाट आउँदा ल्याएको काफलले मुख रातै बनाएर अगेनाको छेउमा बसिरहेका थिए । आजको अन्वेषणमा अर्को गोठको चूलाको अवस्था के छ त? वाक्लो, धुँवा लागेको जस्तो रोटी, बटुकोमा हलहलेको डाँठको हरियो साग र गिलासमा दही अघि राखेर बृद्ध मुसुक्क मुस्कुराए । उनको खास नाम भने उनैलाई थाह रहेनरहेछ । बोलाउने नाम मात्र रहेछ । एउटा हातले मुखमा रोटी राख्दै मलाइ सोधे ‘रोटो खान्छौ?’ मैले भने ‘म रोटी खान्न मेरो भात पाकेको छ ।’

रोटी आधा चपाउँदै भने ‘भात खान्छौ त ?’ बोल्दाबोल्दै उनको आधा रोटी मुखबाट बाहिर खस्यो । मैले मेरो अन्तै खाना पाकिसकेको बताएँ । ‘म घुमन्ते हुँ यसो साँझमा गोठ हेर्न आएको हुँ । म आफू पनि पहिला खेतका गोठमा गाइ रुँग्न बसेकोले यसो हेर्न आएको ।’ मेरो कुरा सुनिरहेकी छेउकी बृद्धाले पटक्कै पत्याइनन् । मैले वाख्रा चराएको, पाठो बोकेको कथा सुनाएँ उनले ‘हैन होला’ भनिन् । ‘तम्रामा वाख्रा हेर्ने भा या कसरी आउन्थेउ ।’ याद त मलाई वाल्यकालको झलझली आयो । केटाकेटीमा खेतका वीचमा गोठमा बसेको खुव याद आइरह्यो ।

धुस्नेभित्र सुतेर रातभर गाइको हेरचाह गर्थ्यौँ हामी । यी कुरा वेलिविस्तार लाउँदा साँझ छिप्पिन्थ्यो, अनि उनीहरुले पत्याउलान भन्ने आशा पनि रहेन । उनीहरुको अगेनाको छेउमा गुन्ठुनिएको चाइनिज व्ल्याङ्केट हाम्रो गोठे सिरक जस्तै थियो । सिरकको सेतो खोलमा धुँवा लागेर बसेको टाटा जस्तै उनको व्ल्याङ्केट भरि धर्साहरु थिए । बृद्धले हातले सागको डाँठ खाइसके र त्यही व्ल्याङ्केटमा पुछे । कस्तो मज्जा । हाम्रो खेतको गोठे जिन्दगी पनि झण्डै उस्तै थियो । त्यस्तो सिरक आजभोलि ओड्दा शरिर जताततै चिलाउँछ ।

उवेला कतै चिलाउँदैन थियो । जीवन अभ्यासहरुको आन्तर्यबाट बग्ने रहेछ । ‘केही चोटले वानी र धेरै चोटले ज्ञानी’ बनाउने जीवनको रहस्य पढ्न यो सुनौलो अवसर हो । जस्तो अभ्यास चलिरहेछ त्यसैमा चल्ने । मलाई लाग्छ, त्यो जीवन फेरि फर्कियो भने गाइगोठको पुरानो सिरक ओडेर धुस्नेमाथि म कसरी निदाउन सकुँला । तर, उनीहरु त्यस्तैमा मस्त निदाएका छन् । अगेनामा जोतेका ठूला काठका फलेक र भूइमा विछ्याइएका रुखका सुख्खा पात नै उनीहरुको सुन्दर घर हो । गाइको गोवर र गहुँतबाट आउने सुगन्ध नै उनीहरुको पर्फ्यूम हो ।

गाइले रातभर दिने आवाज, छटपटाहट नै उनीहरुको सुरक्षा पद्धति हो । गाइवाच्छाले उघ्राउँदा निकालेको सास नै जीउने रहरको उच्छवास हो । जीवन कति सरल छ । घरबाट ल्याएको चामल वा पिठो बाहेक कुनै कुराको अभाव छैन । हलहलेको झार, दूध दही मोही छ्यालव्याल छन् । पाँचसय वर्ष पुरानो रुखको सुकेर झरेको हाँगाको दाउरा । छरछिमेकमा माया ममता सद्भाव । यी सवै अपरिमेय र अवर्णनीय छन् । कसैसँग रिस द्वेश इर्श्या छैन । सबैका लागि खुल्ला चौर छ । धित मरुन्जेल उफ्रने पाटन छ ।

कलकल बगेका खोला नागबेली भइ हरेक थुम्काका फेदमा पुगिदिएको छ । के चाहिन्छ मान्छेलाई ? रुस, युक्रेन युद्ध, पश्चिमा पूर्वीय द्वन्द, विश्वव्यापी तापमान बृद्धि, देश देश वीचको सीमाविवाद त्यहाँका मान्छेका सरोकारका विषय होइन । कसैलाई थाह पनि छैन समाचार पनि सुन्ने साधन फूर्सद केही छैन । फोनमा नेटवर्क पनि छैन । रातमा बत्तीको साहारा पनि आवश्यक छैन । यो चुला वरिपरि बसेका बृद्धबृद्धाका आँखामा निद्रा देखिन्थ्यो । उनीहरुले रोटी चपाएजस्तो देखिएपनि शरिर आरामीका लागि आतुर देखिन्थे ।

मसँग अगेनाछेउको मुढोमाथि निकै प्रश्नहरु त थिए, छेउमा घोप्टो परिरहेको भुक्के चप्पललाई उत्तानो पारिदिन मन लागिरहेको थियो, बटुकोभित्रको तरकारीमा छ्याप्प परेको खरानीको थुप्रो निकालिदिन मन थियो, त्योभन्दा बढी उनीहरुको जीवन भोगाइ, वुझाइ र सपनाहरुको खातको डायरी पल्टाउनु थियो । तर अव आजलाई यहाँबाट निस्कनु नै उचित लाग्यो । विहानदेखिको पाटन यात्रामा गाइगोठका दिनचर्याहरु अन्वेशित छन् । गोठमालिकहरुको जीवनशैली र सपनाहरुको बुझाइमा मन आल्हादित छ । आकाशमा लागेको चन्द्रमा सवैका लागि समान छन् । उज्यालो पनि यति छ कि भूइमा खसेको सियो देखिन्छ ।

जीवन त तुलनाले मात्र दुखी हुँदो रहेछ । त्यहाँ कुनै विजुलीबत्ती छैन, टुकी बत्ती समेत छैन । शतप्रतिशत पुरातन जीवन छ । चूल्हामा बलेको आगोको उज्यालोले गोठभित्रको सवै चिज प्रष्ट देखिन्छ । गाइले बस्दाखेरि फ्याँकेको सासले उडाएको धूलो अमृत जसरी हावामा मिसिएर आउँछ । कसैलाई रुँगा लागेको छैन आजसम्म । गाइले कुल्चिएको खोलाको पानी त्यसै अंजुलीमा पिएका मान्छेहरुलाई आजसम्म सिटामोल खुवाउन परेको छैन । आहा स्वर्णभूमिको शीतल जीवन । आकाशको चन्द्रमाको काखका घरहरु । जता हेर्यो उतै रमाइलो ।

पिराको रुपमा दिएको दाउराको ठूटामाथि मेरो शरिर बिझाइरहेको थियो । करिव साँझको नौ नै बज्न लागिसकेको थियो । मैले उनीहरुसँग विदा मागेँ । बुढीआमाले भनिन् ‘कहाँ जान्छौ यतै बस ।’ मेरोलागि बासको व्यवस्था थियो । सुन्दर खाट सहितको, ट्वाइलेट वाथरुम सँगै भएको कोठा । घामबाट संकलन गरी सुरक्षित गरिएको विजुलीसहितको कोठा, मैले ‘जान्छु’ भने । बुढी आमाले सद्भाव पोखिन्, ‘लड्छौ भूईतिर हेरेर जाउ ।’ मलाई कसैले कहाँ बस्छौ ? कहाँ बाट आएको ? केही सोधेनन् ।

नमस्कार गरेर बाहिर निस्कें । फलेकको ढोका लागेको ड्याम्म आवाज आयो । म क्षितिज तिर देखिने घाँसे मैदानमा फैलिएको जंगलको कालो छाँयाँ एकोहोरो हेरिरहेको थिएँ । यो खुल्ला आकाश, एकल चन्द्रमाको राज, छेउछेउका ससाना ताराहरुको तीखो उज्यालो । ध्रुवतारा कता थिए मनले र आँखाले एकैपटक खोज्दैथियो । उन्मत्त मन । गाइगोठबाट आउने गौमाताको भावात्मक शान्ति । नजीकै एकस्वरमा कराइरहेको स्यालको आवाज । तैपनि मनभित्रको वर्णनै गर्न नसकिने खुशी । आकाशतिर एकोहोरो अडिरहेका आँखा र आफैं अघि वढिरहेका पाइलाहरु, वाल्यकालको एक झल्को ।

आहा, खप्तड !

स्रोत : दृश्य टिभी
प्रकाशित मिति : १३ असार २०८०, बुधबार १८:४७