सूचनाको शक्ति - The Power Of Information

        

पूर्वी नेपालको कोसेली ‘निगुरो’

शहरी क्षेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अर्ग्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारी लगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ ।

सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो । बेलबारी–१०, भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसकेकी छन् । तर, उनी दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दै आएकी छन् । निगुरो २५ रूपैयाँमा प्रतिमुठा बेच्ने गरेको राई बताउँछिन् ।

उनीजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिरहेका छन् । भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौँ पठाइन्नथ्यो । ‘बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनुपर्थ्यो । तर, अहिले अरूले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौँका व्यापारीले किनेर लैजान्छन्,’ भद्रमाया भन्छिन् ।

यस क्षेत्रबाट दैनिक निगुरो राजधानी लगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । वार्षिक झण्डै एक करोड रूपैयाँभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ । मोरङमा १३४ सामुदायिक वन छन् । पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरो सम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन् । चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ । तर, यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा वैशाखसम्म पलाउन सकेको थिएन ।

कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा.उप्रेती बताउँछन् । निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियम लगायत पोषक तत्त्व पाइन्छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १८:१९