बैजनाथ गाउँपालिकाले किसानलाई कृषि यन्त्र वितरण गरेको छ । गाउँपालिका कार्यालय रामपुरमा मंगलबार एक कार्यक्रमका बीच किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, आर्थिक विकास समितिका संयोजक एवम् वडाअध्यक्ष प्रेमबहादुर शाही, कृषि शाखा प्रमुख प्रमोदकुमार बिश्वकर्मा लगायतले वितरण गरेका हुन् ।
आर्थिक विकास समितिका संयोजक शाहीले दिएको जानकारी अनुसार ३१ जना किसानलाई मिनटेलर र ११ जना किसानलाई पावर टेलर वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले बार्षिक बजेटमार्फत किसानलाई अनुदान दिने निर्णय गरेको थियो ।
उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले आवेदन खोलेको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो ।
वितरण कार्यक्रमको अध्यक्षता गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो क्रममा बैजनाथ ३ का वडाअध्यक्ष निखिल बैगार, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, किसान, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
सत्यपाटी संवाददाता । बाँके