सूचनाको शक्ति - The Power Of Information

        

इन्सपेक्टर सरुवामा बिचौलिया, आइजिपी निरीह

बिचौलियाको चलखेलका कारण नेपाल प्रहरीमा चैतमा हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । अवकाशको मुखमा तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ठूलो मात्रामा इन्सपेक्टरको काज सरुवा निकालेका थिए ।

अघिल्लो सरुवा मापदण्डविपरीत धेरै जना इन्चार्जमा गएका थिए । मापदण्डविपरीत खटिएका उनीहरूलाई हटाउन प्रहरीमा माग छ । मापदण्डअनुसार क श्रेणीको कार्यालयबाट अर्काे क श्रेणीको कार्यालयमा इन्चार्ज जान नपाउने प्रावधान छ ।

तर, पैसा कमाउन माहिर केही इन्सपेक्टरहरू चलखेलका आधारमा पटक पटक आकर्षक कार्यालयमा गएका छन् । जसलाई अहिलेका आइजिपी बसन्त कुँवरले पनि सच्याउन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

त्यतिखेर सरुवामा आर्थिक चलखेल गर्ने नेता र बिचौलियाहरू अहिले पनि शक्तिशाली भएकाले सरुवा संशोधन हुन नसकेको हो । जसकारण आइजिपी निरीह बनेको चर्चा प्रहरी मुख्यालयमा छ । ‘एकातर्फ काजको विकृति हटाउन भनेर लाग्नुभएको छ, अर्काेतर्फ मापदण्डविपरीतको सरुवा संशोधन गर्न सक्नुभएको छैन,’ एक अधिकृतले भने ।

हाल डिएसपी र एसपीको पनि सरुवाको तयारी भइरहेको छ । एक दर्जन जिल्लाका एसपी फेरिदैछन् । जसमा पनि आइजिपी कुँवरको अग्निपरीक्षा हुनेछ । सरुवामा बिचौलियाहरुले पैसा उठाउन थालिसकेका छन् । त्यस्तै, लफडा वरिष्ठ सईबाट इन्सपेक्टर बढुवामा पनि छ । इन्सपेक्टरमा बढुवाबाट करिब ४० पद पदपूर्ति हुँदैछ ।

जसमा २०० भन्दा धेरै वरिष्ठ सईहरू प्रतिस्पर्धामा छन् । सबैजना शक्तिशाली भएकाले उनीहरूले पावर लगाएका छन् । जसकारण इन्सपेक्टर बढुवा पनि लम्बिएको छ । प्रहरी नियमावली संशोधन गरी रिक्तमध्ये ५० प्रतिशत पदमा बढुवाबाट पदपूर्ति गर्नेबारे पनि छलफल भइरहेको छ । हाल रिक्तमध्ये ४० प्रतिशतमा मात्र बढुवा हुन्छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ०८:०७