सूचनाको शक्ति - The Power Of Information

        

‘लम्पी स्किन’बाट एक सयभन्दा बढी पशु मरे

बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट १२५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको सङ्ख्या यो भन्दा पनि धेरै बढी हुनसक्ने अनुमान गरिएको छ ।

सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले खोपको सुविधा नपाउँदा समस्या झनै बढ्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अधिकृत तथा पशु चिकित्सक डा.रुपेन्द्रकुमार ओलीले जिल्लामा तीव्र गतिमा ‘लम्पी स्किन’को सङ्क्रमण फैलिए पनि अझैसम्म खोप उपलब्ध नहुँदा समस्या बढेको बताए ।

पशु चिकित्सक ओलीले जिल्लामा हालसम्म सो सङ्क्रमणबाट १२५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको र दश हजारभन्दा बढी सङ्क्रमित भएको जानकारी पालिकाहरूबाट आएको बताउनुभयो । उनले भने, ‘केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा अझै भ्याक्सिन आएको छैन ।’

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा. ओलीले भाइरसबाट सर्ने रोग भएकाले खोप बाहेक यसको दिगो उपचार नभएको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको भए पनि सबैभन्दा बढी खजुरा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका पशुहरू सङ्क्रमित भएको बताए ।

यसैबीच सङ्घीय सरकारले ‘लम्पी स्किन’को अवस्था बुझ्न र सो बारेमा निर्णय लिन डा. टंकप्रसाद प्रसाईँलाई लुम्बिनी प्रदेशको फोकल पर्सन तोकेर पठाएको छ । पशु चिकित्सक ओलीले डा. प्रसाईँले बाँकेमा पुगेर प्रभावित पालिकाहरूमध्ये खजुरा गाउँपालिकाको अवस्थाबारे जानकारी लिनुभएको र समग्र अवस्था बुझ्नु भएको बताए ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशु चौपायाको मृत्युपछि किसानले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । सचिव डा. न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए ।

उनले यसको रोकथामका लागि सबै पशुलाई खोप दिनुको विकल्प नरहेको पनि बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसार बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई रहेका छन् । तीमध्ये अधिकांशले ‘लम्पी स्किन’को खोप पाएका छैनन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ०७:१५