कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि बुधबारदेखि मन्त्रालयगत छलफल हुने भएको छ । मंगलबारको प्रदेश सभा बैठकमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका लागि कार्यसूची सार्वजनिक गरिएको छ ।
सभामुख नन्दा गुरुङले पेश गरेको कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल गरिने छ ।
असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुने बताइएको छ । असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।
यस्तै, असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल गरिने कार्यशुचिमा उल्लेख छ ।
बजेटमाथिको छलफलपछि मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यसूची रहेको छ ।
सत्यपाटी संवाददाता । सुर्खेत