सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ ।

हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेका छौं ।’

सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरुको समस्या समाधान हुने गरी समेटिनुपर्ने माग हिस्टुनले राखेको छ ।

साविक उमावि तहको स्वीकृत दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रुपमा कार्यरत शिक्षकलाई उमावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने (विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मानिनुपर्ने) माग राखेका छन् ।

त्यसैगरी कार्यरत शिक्षकहरुले स्थायी पदका लागि खुलाइएको विज्ञापनमा सहभागी भएमा वा नभएर पनि स्थायी पदमा आयोगबाट नियुक्तिका लागि सिफारिस हुन नसकेमा त्यस्ता शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्म सेवाबाट बर्खास्त नगरी विद्यालयको नियुक्तिका आधारमा तोकिए बमोजिमको सुविधाको व्यवस्था गर्नुपर्ने साथै भविष्यमा निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समते विद्यालयका अभिलेख अनुसारको समय गणना गरिनुपर्ने लगातका माग राखेका छन् ।

१९ गतेसम्म गर्ने आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । त्यसपछि पनि माग सुनुवाइ नभए अर्को चरणको आन्दोलन सुरु गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १३:३४