सूचनाको शक्ति - The Power Of Information

        

पुरुषलाई नक्कली मायाजालमा फसाएर रकम ठग्ने महिला पक्राउ

पुरुषलाई नक्कली मायाजालमा फसाएर ८ लाख रुपैयाँ ठग्ने एक महिला पक्राउ परेकी छन् । विदेशी नागरिक बनी मायाजालमा फसाएर रकम ठगी गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ ।

सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरुलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाइँको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

उनले पटक–पटक गरी जम्मा आठ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडितहरु प्रहरीमा आइपुगेका छन् । उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:४१