सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वर्ष २०८०/०८१

बाँकेकाे खजुरा गाउँपालिकाकाे ८३ करोड बढी बजेट

स्वाभलम्बी प्रतिस्पर्धी र स्वस्थ खजुरेली नागरिक उत्पादनमा जोड

बाँकेकाे खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

१३ औं गाउँसभामा अध्यक्ष डम्बरबहादुर बिकले आइतबार नीति तथा कार्यक्रम र उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत गरे । ‘खजुरेली जनताले विकास निर्माण र आर्थिक विकासमा सहभागिता सूनिश्चितता गर्न हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मुल नाराका साथ प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पुर्याउन जनमैत्री नीति अंगिकार गर्ने उदेश्यले राखिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा स्वाभलम्बी प्रतिस्पर्धी र स्वस्थ खजुरेली नागरिक उत्पादनमा जोड दिने नीति लिइएको छ । खजुराले जनताको जीवनस्तर, आम्दानी र रोजगारीका बारेमा समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको गाउँपालिका अध्यक्ष बिकले बताए ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा खजुराका निर्माणाधिन गौरवका आयोजनाको निर्माण र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गर्ने उल्लेख गरिएको छ ।

उपाध्यक्ष मल्लले आर्थिक वर्ष २०८०/०८१ का लागि ८३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरिन् । गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरी कूल ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५२ लाख २५ हजार, वित्तीय समानिकरण १४ करोड ६२ लाख, राजश्व बाँडफाँड ११ करोड ८७ लाख ९९ हजार, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान ५० लाख गरी ६४ करोड ३७ लाख २५ हजार प्रस्तावित बजेट रहेको छ ।

गाउँपालिकाले प्रदेश सरकारबाट सशर्त अनुदान ८६ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान १ करोड ९ लाख ४५ हजार, राजश्व बाँडफाँड २ करोड ५६ लाख ३४ हजार ६ सय ५८, समपुरक अनुदान १ करोड गरी ५ करोड ५२ लाख २९ हजार ६ सय ५८ प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

आन्तरिक राजश्वतर्फ २ करोड ५० लाख र अल्यातर्फ ११ करोड गरेर १३ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ । उक्त बजेटमा सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार ४ सय, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार ४ सय रुपैयाँ, स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार, खानेपानी तथा सरसफाइतर्फ १६ लाख, कला संस्कृतिमा खजुरा प्रज्ञा प्रतिष्ठानमार्फत १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २५ लाख, सामाजिक सुरक्षातर्फ ५ लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी आर्थिक विकासतर्फ ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, लघु उद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रको विकासका लागि १ करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५ सय ६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमि सम्बन्धि समस्या समाधान गर्न २५ लाख, पूर्वाधारतर्फ २ करोड ६४ लाख विनियोजन गरिएको छ ।

गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकात गर्न र सडक गुरुयोजना अनुसार सडक निर्माण गर्न १ करोड, अधुरा योजनाहरुको पूर्णता गर्न ११ करोड, गाउँपालिकामा बसपार्क निर्माण गर्न १ करोड, पालिकाभित्रका उर्जा, बिद्युतीकरण , तारपोल, हेमपाइपका लागि १६ लाख रुपैयाँ उपाध्यक्ष मल्लले विनियोजन गरेकी छन् ।

त्यस्तै परम्परागत धार्मिक संस्कृति संरक्षणका लागि ८ लाख, मर्मत संभारका लागि ४० लाख, सुशासनतर्फ ७३ लाख ८० हजार जसमा लक्षित गर्ततर्फ २४ लाख, युवा स्वोरोजगारका लागि १२ लाख, न्यायिक समितिका लागिग २१ लाख, राजश्वतर्फ ४ लाख, विपद् व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको बताइन् ।

यसैगरी फोहोर ब्यवस्थापन गर्न ल्याण्डफिल साइड निर्माणका लागि १६ लाख रुपैयाँ, वत तथा वातावरणतर्फ ७१ लाख, ६० हजार, चालू र पुँजीगत खर्च ९ करोड २२ लाख ५० हजार, संस्थागत विकासतर्फ ३२ लाख ६० हजार, डिजिटल गाउँपालिका बनाउन २५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको आफ्नै रोलर र जेसिबी खरिद गर्न १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न २ करोड रुपैयाँ र संघ तथा प्रदेश साझेदारीमा हुने कार्यक्रमका लागि ३२ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभामा प्रतिनिधि सभाका सांसद आशा बिक, प्रदेश सांसदद्धय बादशाह कुर्मी, रत्न खत्री लगायतको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १८:४४