सूचनाको शक्ति - The Power Of Information

        

प्रकाश सपुतमाथि आक्रमण, घटनाबारे कूटनीतिक नियोगलाई ध्यानाकर्षण

गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ ।

अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन् ।

संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ । नेपाली समयानुसार सोमबार बिहान युरोपेली मुलुक रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमको क्रममा सपुतमाथि दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको थियो ।

यो घटनामा सपुतको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । आधा घण्टा कार्यक्रम बिथोलिएको र त्यसपछि कार्यक्रम सुचारु भएको जनाइएको छ ।

याद नेपाली म्युजिक फेस्टिभल भाग-२ नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए । उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन् ।

यो घटनालाई लिएर नेपाली संगीतकर्मीले आपत्ति व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १२:४८