सूचनाको शक्ति - The Power Of Information

        

मुलुकभर १९७ सामुदायिक विद्यालय उत्कृष्ट

शिक्षा मन्त्रालयले मुलुकभर १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ । मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो ।

हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ । त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले विद्यालय छनोट गरेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए । रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ ।

रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिनेछ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो । केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ ।

विद्यालय कार्य सम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ । लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १२:१५