सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ के हो ? कसरी बच्ने ?

मनसुन सुरु भएसँगै चट्याङ पर्ने क्रम पनि बढेको छ । हरेक दिनजसो यसबाट जनधनको क्षति भएका विवरणहरू आउन थालेका छन् । त्यसैले यसबाट सचेत रहँदै जोगिन सरकारले आग्रह गर्दै आएको छ ।

चट्याङ के हो र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी लिएर सचेत हुने हो भने धेरै हदसम्म यसबाट बच्न र अरुलाई बचाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङ के हो ?

चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकासमा विपरित दिशाका बादलहरू तीव्र गतिमा जुधेपछि ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ । त्यसबाट आगोको मुस्लोजस्तो झिल्को निस्किन्छ । त्यसलाई बिजुली चम्किएको भन्ने गरिएको प्राधिकरणले जनाएको छ ।

चट्याङ पर्दा अत्यन्तै धेरै करेन्ट उत्पन्न हुन्छ । त्यस्तो करेन्टको मात्र कहिले काहीँ आकाशबाट जमिनतिर केन्द्रित भई प्रभावित हुने बेला यसको सम्सर्गमा आउने कुरामा क्षति पुर्याउने गरेको प्राधिकरणको भनाइ छ ।

चट्याङबाट बच्न गर्नुपर्ने पूर्वतयारी

अर्थिङले बिजुली चम्किँदा निस्किएको करेन्ट र घरको करेन्टलाई जोडिन दिँदैन । त्यसैले दक्ष प्राविधिकको सहयोगमा तामा, आल्मुनियम तथा जीआईका रड घरको सबैभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातु र पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गर्नुपर्छ ।

‘घर तथा भवनहरू बनाउँदा अग्ला रुख, टावर र बिजुलीको लाइनबाट सकेसम्म टाढा बनाउनुपर्छ । घरमा जडान गरिएका विद्युतीय सामग्री बेलाबेलामा सुरक्षित छन वा छैनन् भनेर जाँच गर्नुपर्छ,’ प्राधिकरणले भनेको छ ।

चट्याङ परेको समय घरबाहिर हुँदा चट्याङले अग्ला रुख, बिजुलीका तार, पोल, पोखरी र नदीमा सजिलै समात्नसक्ने भएकाले त्यसको नजिक जानु हुँदैन । धातुको गेट, पर्खाल, पोल जनिक नबस्न पनि प्राधिकरणको आग्रह छ ।

खुला ठाउँमा गएर शरीरलाई सानो बनाएर टुक्रुक्क भुईंमा कुरकुच्चा जोडेर बसी दुवै हातले कान थुन्नुपर्छ । बिजुली चम्किएको समयमा खुला तथा पानी परेको स्थानमा बस्नुहुँदैन । सकेसम्म घरमा बस्नुपर्छ । विद्युतीय उपकरण प्लगबाट छुटाउनु पर्छ ।

नदी तथा खोला तर्नुहुँदैन । पौडी खेल्नुहुँदैन । पानीको धारामा सिधै नुहाउनुहुँदैन । विद्युतीय उपकरण प्रयोग गर्नुहुँदैन । सकेसम्म चट्याङ परेका बेला घरभित्रै झ्यालढोका बन्द गरेर बस्नुपर्छ भने धातुका रेलिङ छुन नहुने प्राधिकरणले जनाएको छ ।

चट्याङपछिको सतर्कता

चट्याङले असर गरेमा तुरुन्तै प्राथमिक उपचारपछि अस्पताल लैजानुपर्छ । चट्याङ सामान्यतया आराह्न तीन बजेपछि पर्ने हुनाले घरबाहिरको काम दिउँसै सकेर तीन बजेपछि घरमै बस्नुपर्छ । क्षतिको मूल्यांकन र पुनःस्थापनको काम गर्दा आपङ्गता भएका व्यक्ति, गर्भवती, बालबालिका, जेष्ठ नागरिक एकल महिला, महिला र अशक्त व्यक्तिलाई प्राथमिकता दिन प्राधिकरणको आग्रह छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०७:५५