भनिन्छ, पेट खराब त दिमाग खराब । वर्षाको बेला छ । यसबेला पेटको संक्रमण, अपच, ग्यास्ट्रिकले बढी नै सताउँछ । पेट राम्ररी सफा र स्वस्थ भएन भने सम्पूर्ण शरीर भारी हुन्छ ।
त्यसो त शरीरमा धेरैजसो रोग लाग्नुमा पेटकै भूमिका हुन्छ । पेट जति राम्रो र तन्दुरुस्त हुन्छ, शरीर उत्ति नै स्वस्थ हुन्छ । तर पेट खराब भएमा समग्र शरीर नै शिथिल र कमजोर हुन्छ ।
१. दूषित पानी र बासी खानेकुरा
वर्षायाममा भल वा फोहोरपानी मुहानमा गएर मिसिने गर्छ । दिसा–पिसाबसँगै मरेको सर्प, भ्यागुता आदिलाई पनि बगाएर मुहानमा मिसाइदिन सक्छ ।
जब हामी यस्तो पानी पिउँछौं, खराब ब्याक्टेरिया पेटमा पुग्छ । दूषित पानीको कारण झाडापखला, हैजा, हेपाटाइटिस ए, ई जस्ता समस्या हुन सक्छ ।
त्यसो त अन्य समयमा पनि दूषित पानीले गर्दा पेट गडबड हुन्छ । त्यसैगरी बासी, सढेगलेको खानेकुराले पनि यसबेला पेट खराब गर्छ ।
खासगरी होटल, रेस्टुरेन्टमा पकाएको खानेकुरा लामो समय राख्ने गरिन्छ । यसरी राख्दा धुलो, फोहोर, झिंगाले दूषित बनाइदिन्छ ।
यस्तै खानेकुरा खाँदा पेट ढुस्स हुने, बान्ता हुने, पखाला लाग्ने गर्छ । घरमै पनि बासी रहेको खानेकुरा चाँडै सड्ने, गल्ने भएकाले त्यस्ता खानेकुरा खाँदा पेटको समस्या हुन्छ ।
२. इरिटेबल बाउल सिन्ड्रोम
पेट खराब गराउने अर्को कारण इरिटेबल बाउल सिन्ड्रोम हो । आन्द्राको असाधारण खुम्चिने प्रक्रियाकै कारणले राम्ररी काम गर्न सक्दैन र पेट दुख्न थाल्छ ।
र, प्रत्येक पटक खाना खाएपछि दिसा लागेको अनुभव हुन्छ । यो इरिटेबल बाउल सिन्ड्रोम हुन सक्छ । संवेदनशील आन्द्रा वा कमजोर रोगप्रतिरोधक क्षमता र अत्यधिक तनावका कारण यस्तो समस्या देखिन सक्छ ।
तनाव भएमा एड्रिनल ग्रन्थिबाट एड्रेनैलिन तथा कार्टिसालनामको हार्मोनको श्राव हुन्छ । तनावकै कारण पूरै पाचन तन्त्रमा पोल्न थाल्छ र पाचन नली सुनिन्छ । फलस्वरूप शरीरले पोषण तत्व पाउँदैन ।
३. प्यान्क्रियाटाइटिस
पेटमा हुने प्यान्क्रियाजलाई अग्नाशय भन्ने गरिन्छ । अग्नाशय सुन्निनु प्यान्क्रियाटाइटिस हो, जसले पेट खराब गराउँछ । अग्नाशय पेटको पछाडि भित्री भागमा हुन्छ ।
यसको काम इन्जाइम उत्पादन गर्नु हो, कहिलेकाहीं पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ, जसकारण प्यान्क्रियाटाइटिस हुने गर्छ ।
अत्यधिक मात्रामा मदिरापान र धुम्रपान गर्नेलाई प्यान्क्रियाटाइटिस हुने गर्छ । प्यानक्रियाजले इन्जाइम बनाउन सकेन भने सधैंभर पेट दुख्ने, चिप्लो दिसासहितको पखाला लागिरहन्छ ।
४. ग्यास्ट्राइटिस
अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण आमाशय वा सानो आन्द्रा सुनिन्छ, जसलाई ग्यास्ट्राइटिस भनिन्छ ।
त्यस्तै दूषितपानी र खानाबाट सर्ने जीवाणुको संक्रमणबाट एचपाइलोरी इन्फेक्सन हुन्छ । यसले पनि ग्यास्ट्रिक गराउँछ । ग्यास्ट्राइटिस बच्चादेखि वृद्ध उमेरका जोसुकैलाई देखिन सक्छ ।
बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, पेटको माथिल्लो भाग दुख्ने, पेट बाउँडिने, दिसाको रङ कालो हुने, शरीर दुख्ने गर्छ ।
यसले पेटलाई मात्र नभई शरीरलाई नै कमजोर बनाइदिन्छ । यसको लामो समयसम्म उपचार नभए अल्सर, आन्द्रामा क्यान्सर समेत हुन सक्छ ।
५. पेट खराब गराउने मुख्य तत्व धूमपान र मदिरा
धूमपान र मध्यपान अत्यधिक गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस दुवै हुन सक्छ । धुम्रपान र मदिरा लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ ।
यस्तै लिभरमा हेपाटाइटिस भएमा, किड्नीमा स्टोन वा युरेटेरिक स्टोन भएमा, कोलिटिज (ठूलो आन्द्राको सुजन) भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमा पनि पेट दुख्ने समस्या आउँछ ।
६. दुखाइ कम गर्ने औषधिको असर
दुखाइ कम गर्न प्रायः फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफिन, एस्पिरिनजस्ता ‘पेन किलर’को प्रयोग गर्ने चलन बढ्दो छ । तर यस्ता औषधिको प्रयोगले पेटलाई कति खराब गर्छ भन्नेमा कसैको ध्यान पुगेको छैन ।
दुखाइ कम गर्ने औषधिले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुरोग भएकाले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधि ‘एस्पिरिन’को प्रयोग गर्दा पनि पेटमा अल्सर हुन सक्छ ।
७. कब्जियतको समस्या
कब्जियतले शरीरमा अन्य रोग पनि पैदा गर्छ । ठूलो आन्द्राबाट दिसा निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो ।
यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्याउँछ, जुन निकै घातक हुन सक्छ । पर्याप्त फाइबर नखानु, अस्वस्थकर खानपान, हार्मोन सम्बन्धी गडबडी, कुनै औषधिको साइड इफेक्टले गर्दा कब्जियत गराउन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं