हरेक आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार देशभरका ७५३ स्थानीय तहले आज बजेट ल्याएका छन्। केही पालिकाले यसअघि नै बजेट ल्याइसकेकोमा बाँकीले आज सार्वजनिक गरेका हुन्।
देशभरका ६ मध्ये ५ महानगरपालिकाले आज बजेट सार्वजनिक गरेका छन्। काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरसहित मोरङको विराटनगर, पर्साको वीरगन्ज, चितवनको भरतपुर र कास्कीको पोखरा महानगरले पनि आगामी आर्थिक वर्षको आयव्यय नगरसभामा प्रस्तुत गरे।
कुन महानगरको बजेट कस्तो ?
काठमाडौं
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभागृहमा महानगरको २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगर उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्।
महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, नि:शर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्।
उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।
त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ। महानगरले आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।
भरतपुर
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको हो। चालु आर्थिक वर्षका लागि पूरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो।
महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ।
यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ। चालु आर्थिक वर्षमा महानगरपालिकाले १ अर्ब २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो। तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ। आगामी आर्थिक वर्षका लागि १ अर्ब ७५ करोड उठाउने लक्ष्य लिएको छ। आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्ब ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन्।
अन्तर सरकारी अख्तियारी शीर्षकमा महानगरपालिकाले १ अर्ब १० करोड रुपैयाँ अनुमानित आय हुने अनुमान गरेको छ। जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताइएको छ। महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ।
महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक वर्ष २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो।
विराटनगर
विराटनगर महानगरले आर्थिक वर्ष २०८०–८१ का लागि ३ अर्ब २८ करोडभन्दा बढीको बजेट ल्याएको छ। महानगरपालिकाको १२ औं अधिवेशनमा उप-प्रमुख शिल्पा निराला कार्कीले आइतबार आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी छन्।
स्रोत सुनिश्चितताको आधारमा आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा केही सानो ल्याइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ रु.१० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरेको छ।
व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयुडिपीबाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मतसम्भार १० करोड, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार विनियोजन गरेको छ।
ललितपुर
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आइतबार महानगरको तेस्रो नगरसभामा उपप्रमुख मन्जली शाक्यले ६ अर्व ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
चालुतर्फ ४ अर्ब २१ लाख ४६ हजार र पुँजीगततर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी वर्ष प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक शौचालय बनाइने, अपांगतामैत्री फुटपाथ निर्माण, साइकल लेन, स्मार्ट सडक बत्ती जडान, सीसीटीभी र ट्राफिक लाइट जडान गरिने महानगरले उल्लेख गरेको छ।
हस्तकला प्रवर्द्धनका लागि कोसेली घर बनाइने र सहुलियतपूर्ण कर्जाका लागि बिउ पुँजीको व्यवस्था अगाडि सारिएको छ। त्यस्तै विपद् व्यवस्थापनका लागि महानगरले ‘पाटन सिटी डज नट सिलिप’को अवधारणा ल्याएको छ।
त्यसैगरी वातावरण प्रहरीको सुरुवात, विद्युतीय गाडी खरिदकर्तालाई राजस्व छुट, सिक्दै काम गर्दै, पढ्दै कमाउँदै अवधारणाअन्तर्गत पार्टटाइम कामको व्यवस्था गरिने बजेटमा उल्लेख छ।
‘जनताको कर, जनतालाई खबर’ कार्यक्रममार्फत महानगरका हरेक गतिविधि नागरिकमाझ सम्प्रेषण गरिनेलगायत कार्यक्रम ल्याइएको छ।
पोखरा
कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए।
विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै सजगतापूर्वक आवश्यक रणनीति अवलम्बन गरिने महानगरको योजना छ। पर्यटन, पूर्वाधार विकास, मानव संसाधन विकास, उद्यमशीलता, सुशासनलाई केन्द्र विन्दुमा राखी तदनुरुप नीति योजना र कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘सरकारलाई पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न अनुरोध गर्दै समग्र पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोच लागू गरिनेछ’, प्रमुख आचार्यले भने।
महानगरपालिकाका महाशाखा, शाखा तथा वडाको सेवालाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ। मेलमिलाप पद्दतिलाई वडा तहसम्म प्रभावकारी बनाउने महनगरको योजना छ। नागरिकलाई प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन विभिन्न ११ विषयगत काउन्टर सञ्चालनमा ल्याइ सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहका लागि ‘एकद्वार प्राणाली’ सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताए।
करिब रु तीन अर्बको लागतमा बहुप्रतिक्षित तालचोक बेगनास नमुना सडक विश्व बैङ्कको सहयोगमा निर्माण कार्य यसै वर्षदेखि द्रुत गतिमा अगाडी बढेको छ। कोत्रे दोबिल्ला हुँदै बिरौटा जोड्ने वैकल्पिक राजमार्ग स्तरोन्नतिको काम सुरु भएको महानगरपालिकाले जनाएको छ।
कृषकद्वारा उत्पादित सामग्री उत्पादन स्थलबाटै सङ्कलन गरी सहरी क्षेत्रका कृषि बजारसम्म पुर्याउनका लागि चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले तर्जुमा गरेको त्रिवर्षीय आवधिक योजनाको समयावधि आव २०८०/८१ मा सकिने भएकाले आगामी आव भित्र स्थलगत विशेषतामा आधारित दोस्रो आवधिक योजना तर्जुमा गरिने उल्लेख छ।
हरेक वडामा गुनासो सुनुवाइको व्यवस्था मिलाइने र हेलो मेयर सेवालाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरिने र सेवाप्रवाह तथा सङ्गठन व्यवस्थापनका लागि सुशासन प्रवर्द्धन समितिलाई थप सक्रिय बनाइने छ। विजयपुर पारिको महानगर क्षेत्रलाई पायक पर्ने गरी एक दमकल र एक एम्बुलेन्स सोही क्षेत्रमा रहने व्यवस्था मिलाइने छ।
विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुरूप तर्जुमा भएको कार्बन तटस्थ रणनीतिक कार्ययोजना क्रमशः कार्यान्वयन गर्दै लगिने छ। एक घर दुई बिरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षरोपण कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने र आव २०८१/८२ भित्र दुई लाख बिरुवा रोपण गर्ने गरी हरित पोखरा निर्माणका लागि ‘क्लिन पोखरा ग्रिन पोखरा’ परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ।
‘समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहर’ को अवधारणा, ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यता स्थापित गर्न पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवर्द्धन गर्ने महानगरको योजना छ। पोखराको लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लेकसाइड क्षेत्रलाई २४सै घण्टा खुला गर्न पहल गरिने बताए।
बेगनास ताललगायत तालमा सम्भाव्यता अध्ययनका आधारमा वाटर स्पोर्टस् सञ्चालन गर्ने कार्यक्रमलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ। पोखराको पुरानो बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर र सार्वजनिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सम्पदा पर्यटकीय स्थलको रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ।
फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने भन्दै नीति तथा कार्यक्रममा फेवा, बेगनास, रुपालगायत रामसार सूचिमा सूचिकृत तालको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
आगामी दुई वर्षभित्र पोखरा–९, पृथ्वीचोकमा पर्यटन सूचना केन्द्र, वाचनालय, घण्टाघर र सार्वजनिक पुस्तकालय रहने गरी पोखरा भवन (कोसेली घर) निर्माण गरिने प्रमुख आचार्यले बताउनुभयो। ‘कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ अवधारणका साथ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आधुनिकीकरण तथा यान्त्रीकरण प्रविधि प्रयोगमा ल्याई उत्पादन तथा उत्पादकत्व वृद्धि गरी तरकारी, दूध, माछा, मासु, अण्डा र पुष्प (फुल) जस्ता वस्तुमा आत्मनिर्भर बनाउन जोड दिइने छ।
कृषि उपज बजारीकरणका लागि ‘बारीदेखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने छ। कृषि उपज सङ्कलन, भण्डारण र बजार पहुँच विस्तारका लागि कृषि एवं उत्पादनमा जाने सहकारीलाई प्रवद्र्धन गर्दै एक सहकारी एक व्यावसायिक उत्पादनमार्फत, उद्योग तथा रोजगारी अभियान सञ्चालन गरिने नीति छ। ‘बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार’ नारालाई चरितार्थ गर्न श्रम बजारको माग र आवश्यकता अनुरूप सहज रूपमा दक्ष जनशक्ति आपूर्ति हुने व्यवस्थाका लागि व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने छ।
‘स्वदेश मै भर परौं, स्वदेश मै केही गरौँ’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई बिस्तार, विकास र आधुनिकीकरण गरिने छ। महानगर गौरवको आयोजनाको परिभाषा र मापदण्ड तयगरी तोकिएका मापदण्ड पुरा गर्ने आयोजनालाई मात्रै गौरवको आयोजनाको रूपमा सूचीकृत गरी मध्यकालिन खर्च संरचनामा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्गका लागि अध्ययन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लामेआहालमा निर्माण गरिने अत्याधुनिक बस टर्मिनलको जग्गा प्राप्ति लगायतका कार्य प्रदेश सरकारसँगको सहकार्यमा अगाडी बढाइने बताए। पोखरा महानगरपालिकाको भू–उपयोग नीति लागु गरिने उल्लेख गर्दै उनले अव्यवस्थित जग्गा खण्डीकरणलाई निरुत्साहित गर्दै जग्गा विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा, मन्दिर पुराना ऐतिहासिक सम्पदा लगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्बद्र्धनको नीति लिइने उहाँले बताए।
ग्रेटर पोखराको अवधारणापत्र तयार गरी सार्वजनिक गरिने र त्यसभित्र व्यवस्थित चक्रपथ र स्याटलाइट सिटीको अवधारणा समेत समेटिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा महानगरका मुख्यचोक र पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण गर्दै आवश्यक ठाउँमा सीसी क्यामेरा जडान गरिने जनाइएको छ।
विद्यालय उमेर समूहका बालबालिकालाई भर्नाको सुनिश्चितता गर्दै गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाको पहुँचलाई थप विस्तार गरिने महानगरप्रमुख आचार्यले बताए। महानगर भित्र प्राविधिक शिक्षामार्फत सिक्दै कमाउँदै कार्यक्रम लागु गरिने उनले बताए। प्राज्ञिक क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम तय गरी पोखरामा नाटक तथा रङ्गमञ्चको प्रवर्द्धनलाई टेवा पुर्याउने नीति लिइने छ। महानगरका सबै वडाबाट निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने महानगरप्रमुख आचार्यले बताए।
वीरगन्ज
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटभन्दा १ अर्ब २२ करोड ९८ लाख ६० हजार कमको बजेट गत बुधबार सार्वजनिक गरिसकेको छ। महानगरपालिकाको बुधबार सम्पन्न १३ औं अधिवेशनले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको हो। यसअघि नगरसभाको १२ औं अधिवेशनले चालु आबको लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
त्यसपछि विशेष अधिवेशनमार्फत ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार पुर्याएको थियो। आगामी आर्थिक वर्षका लागि बजेट घटेर आएको हो। वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सार्वजनिक गरेको कूल विनियोजित बजेट मध्ये चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजा अर्थात २२ प्रतिशत र वित्तीय व्यावस्थातर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत रहेको छ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेट मध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार र नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ८७ लाख खर्च व्यहोर्ने जनाएको छ।
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ