ममीको मुखबाट मैले आफ्नो जन्मका बारेमा सुनेँ । म दस महिना गर्भभित्रको जेलमा बन्द थिएँ । त्यो अन्धकार जलाम्ये कुनामा बिना अक्सिजन थुनिएँ । त्यसैमा ममा प्राणवायुको सिर्जना भयो । नेपालको नदीजस्तै अनेकौँ धमनीबाट रक्तसञ्चार हुन थाल्यो । सूक्ष्म इन्द्रियहरुको सक्रियता बढ्यो । पञ्चतङ्खव, ज्ञानेन्द्रियहरुको सिर्जना भयो ।
म अचम्मित भएँ मानवचोलाको सुरुवाती अवस्थाका बारेमा सुनेर । रगतको डल्लाबाट मानिसको आकृति बन्दो रहेछ । प्राण आफैँ निर्माण हुने रहेछ, जसलाई सास भनिन्छ । मानव शरीर प्राणले चलाउँदो रहेछ । प्राण नै मानव शरीरको ड्राइभर रहेछ । त्यो ड्राइभर आफैँचाहिँ कसरी निर्मित हुन्छ होला ?
कति रहस्यमय छ, कति सूक्ष्म छ, कति मार्मिक छ र कति रोचक छ ! आफ्नो जन्म प्रक्रिया सुनेर मलाई आश्चर्य लाग्यो । अझै जान्ने उत्सुकता जाग्यो । उसै पनि मलाई जान्न–बुझ्न मन पर्ने । अनुभव गर्न मन लाग्ने । हरेक सूक्ष्म चीज खोतल्न मन पर्ने । मभित्र रहस्यका तरङ्गहरु सल्बलाए ।
अब मलाई बाल्यकालसँग साक्षात् हुने रुचि बढ्यो । अर्को दिन आमाछोरी पारिलो घाम ताप्दै थियौँ रानीतलाउको किनारमा बसेर । मैले भनेँ, “ममी, हिजो कथाको पहिलो भाग सकियो, आज दोस्रो भाग हो नि !”
ममीले भन्नुभयो, “सकिइहाल्यो नि कथा ।”
मैले भनेँ, “हजुरले त स्वस्थानीकथाजस्तै भन्छु भन्नुभएको थियो त ! स्वस्थानीकथा सकिन एक महिना लाग्छ । कहाँ सकिएको छ र ?”
ममीले हाँस्दै भन्नुभयो, “कति तृष्णा हो आफू जन्मेको रहस्य खोतल्न !”
मैले ममीलाई फुर्काउँदै भनेँ, “शब्दपुष्पद्वारा कोरा कागज भर्छु । आफ्नै कहानी लेख्छु । सुरुवात आफँैबाट गर्छु । अचेनत, अन्जान अवस्थासँग परिचित हुन्छु ।”
ममीले मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “कहानी लेख्छौ ?”
ममीतिर हेर्दै मैले भनेँ, “हो नि, ममी ! अचेतन र चेतन बाल्यकाल कोरा कागजमा भर्छु । त्यसको सत्य प्रमाण हजुरसँग छ । त्यसैलाई नीलो मसीले लिपिबद्ध पार्छु । ममीबाबासँगको नाता इतिहास बनाउँछु । रानीतलाउ र मेरो नाता शब्दमा उतार्छु । यस भूगोललाई जीवन्त पार्छु । बाल्यकालका सखीहरुलाई सम्बोधन गर्छु ।”
मैले कलमको नीलो मसी सेतो कागजमा कोर्न थालिहालेँ ।
ममीले मख्ख परेर भन्न थाल्नुभयो –
ल ल लेख । म अर्को भाग भन्दै जान्छु । नवशिशुका रुपमा तिम्रो आगमन भएपछि भव्य खुसियाली भयो । मिठाईको भोजभतेर नै चल्यो । तिम्रा बाबाले तात्तातो जेरी–स्वारी लिएर आउनुभयो त्रिभुवन चोकको मिठाई पसलबाट । प्लेटमा राखेर लुतन र फरिदालाई दिनुभयो । उनीहरुले खुसी हँुदै खाए ।
घरमा आउनेहरु सबै जनालाई मिठाई बाँडियो । छिमेकहरुलाई घरघरमै लगेर पनि बाँडियो । सबैतिर हर्षोल्लास भयो । सायद देवीदेवता पनि खुसाए । पितृहरु पनि रमाए । घरै उज्यालियो । रानीतलाउ नै चहकिलो भयो । बिहानीको प्रकाशसँगै आएकी तिमीले सबैतिर उज्यालो छर्यौ । संसारको सम्पूर्ण प्राप्तिजस्तो अनुभव भयो । विशेष दिन, कुनै राज्यको विजय भएको जस्तो । तिम्रा बाबा हत्तपत्त पण्डितकोमा जानुभयो ।
पण्डितसँग भन्नुभयो, “प्रणाम गुरु !”
प्रणाम फर्काउँदै ‘के छ खबर’ भनेर सोधे पण्डितले ।
उहाँले उत्साहित हँुदै भन्नुभयो, “घरमा लक्ष्मीको आगमन भयो ।”
“कहिले भयो ?”
“आज बिहानै आइन् कन्या । चिनाटिप्पणी बनाउनुपर्यो, गुरु !”
“हुन्छ, बाबु ! म भात खाएर आउँछु ।”
यता आमालाई घरधन्दाले भ्याई नभ्याई ! घिउ हालेर भात र ज्वानाको झोल पकाउनुभयो । थालमा पस्केको तातो भात र कचौराभरि ज्वानाको झोल दिँदै भन्नुभयो, “उठ, सावित्रा ! केही खानुपर्छ ।”
म ठूलो भारी बिसाएको भरियाजसरी लम्पसार थिएँ । सकी–नसकी उठेँ । आमाले खान दिनुभयो । भोकले आत्तिएकी मैले ग्वामग्वाम खाएँ । अति मीठो लाग्यो । धान निकालेको खाली भकारीजस्तो भएको थियो बच्चा निस्केको मेरो खोक्रो पेट, रित्तो । खाली भएजस्तो हलुको, उभिँदै बत्तिनेजस्तो, लगलग काँपिने, रिँगटा लागिरहेको थियो । ज्वानाको झोल र भातले अलिकति उक्सियो पेट । बल्ल अलिकति तागत लाग्यो । पुनः घुप्लुक्क सुतँे ।
आमाले सजग गराउँदै भन्नुभयो, “सावित्रा ! नानीलाई च्याप्लाऊ है । यस्तो बेलामा अत्यधिक निद्रा लाग्छ ।”
मैले भनेँ, “हुन्छ आमा, होसियार हुन्छु ।”
तिम्रो शरीर भर्खरको मानव आकृति बनेको रगतको डल्लोजस्तो थियो । रबरजस्तो लल्याकलुलुक हुने खालको । मैले तिमीलाई जतनले न्यानो बनाएर सुताएँ, कपडामा गुटमुटाएर मुख मात्र देखिने गरी । तिमी सुटुक्क निदायौ । म अलिक सरेर सुतेँ ।
पहिलो सन्तान भएकाले खुसियाली छायो परिवारमा । पण्डित आए । सेतो कमिज र पाइजा पहिरेका, बाहिरबाट नीलो स्टकोट लगाएका, अग्ला र चुचो नाक गरेका उनले निधारमा लामो चन्दनटीका लगाएका थिए । देख्नासाथ आमाले ‘प्रणाम गुरु’ भन्नुभयो ।
प्रणाम फर्काउँदै गुरु सोफामा थचक्क बसे । आमाले पानी दिनुभयो ।
गिलासभरिको पानी घटघट रित्याएर गुरुले भने, “कति बजे जन्मिन् नानी ?”
आमाले गुरुको मुहार हेर्दै भन्नुभयो, “बिहानै छ बजे ।”
गुरुले स्टकोटको खल्तीबाट पात्रो निकाले । पुरानो पावरवाला चस्माबाट दृष्टि फाले । पात्राको सानोसानो अक्षर नियाले । कोरा कागज र कलम निकाले गोजीबाट । कोरा कागजमा गुणा–भागा गरे । अङ्कहरु जोडे, घटाए । षट्कोण बनाए, चारचुच्चे फूलजस्तो ! कोठाकोठा परेको ! अङ्कहरु भरे कोठाकोठाभित्र चार, पाँच, छ गर्दै । ध्यानमग्न भएर हेरे जोखाना हेरेको जस्तै ।
निकै बेरपछि गुरुले कागजबाट नजर उठाउँदै भने, “अति उत्तम समयमा जन्मिछन् । कुनै दोष छैन । भाग्यमानी हुन्छिन् नानी । यी बालिका सिर्जनशील हुन्छिन् । ख्याति कमाउँछिन् । मीन राशिकी भएकीले कोमल हुन्छिन् । गम्भीर स्वभावकी छिन् । सबै राम्रो छ । केही हेराउनै पर्दैन । यो टिप्पणी राख्नू । चिना फुर्सदमा बनाइदिन्छु ।”
उनले कागजको चिट्को आमालाई दिए । आमाले त्यो कागजको चिट्को लिनुभयो र जतनले राख्नुभयो सन्दुकभित्र ।
खुसीले तिम्रा बाबाको चुरी–फुरी नै अर्कै थियो । अफिस पनि जानुभएन । सबै साथीहरुलाई खबर पठाउनुभयो ।
छोरी जन्मिएको समाचार फैलियो अफिसमा । साथीभाइ, छिमेकीले बधाई दिए । तिम्रा बाबा मख्ख हुनुभयो । हामीले भूगोलभरिको खुसी पाएको त्यो दिन विशेष थियो ।
कल्पना खरेल । बाँके