उच्च रेशायुक्त आहार कुनै वरदानभन्दा कम छैन भन्ने कुरा हामीले घरमा सानैदेखि सुन्दै आइरहेका छौं । यसले हृदयघात भएका बिरामीलाई समेत चाँडै स्वस्थ बनाउनमा मद्दत गर्छ भन्ने एक शोधले देखाएको छ ।
बीबीसीले बेलायती मेडिकल जर्नलमा छापिएको एक अध्ययनको बारेमा उल्लेख गर्दै लेखेको छ, हृदयाघातबाट बचेका बिरामीले उच्च रेशायुक्त आहार लिएमा ९ वर्षसम्म ज्यानलाई कुनै खतरा हुँदैन । अध्ययनका अनुसार यदि हामीले आहारमा रेशाको मात्रा दैनिक १० ग्राम बढायौं भने मृत्युको खतरा १५ प्रतिशतसम्म कम हुन जान्छ ।
खानामा उपलब्ध रेशाले कोलेस्ट्रोल र उच्च रक्तचापलाई ठीक राख्छ । अध्ययनमा उल्लेख भएअनुसार बेलायतमा अधिकांश व्यक्ति खानाको माध्यमबाट औसत १४ ग्राम रेशाको सेवन गर्छन् । यद्यपि ती व्यक्तिहरुलाई कम्तिमा आफ्नो खानामा १८ ग्राम रेशाको लक्ष्य राख्ने सल्लाह दिइएको छ ।
अमेरिकाका विशेषज्ञहरुले भने एक दिनमा आफ्नो आहारमा ३८ ग्राम रेशाको लक्ष्य लिएको अध्ययनमा उल्लेख छ । केरा र स्याउ आदि फल, मुला–गाजर र आलुजस्तो जरा भएको तरकारी, गहुँको ब्रेड, रोटी, अनाज र चोकरमा प्रचुर मात्रामा रेशा पाइन्छ । तर बोक्रासहितको आलु र सेकेको अनाजमा रेशाको मात्रा १० ग्राम हुन्छ ।
अमेरिकाका शोधकर्ताहरुले कम रेशायुक्त खानाले कब्जियत, आन्द्रासम्बन्धी रोग र आन्द्राको क्यान्सर हुने खतरा बढेर जाने बताएका छन् । हावर्ड स्कुल अफ पब्लिक हेल्थले दुई ठूला अध्ययनको आधारमा उक्त निष्कर्ष निकालेको हो । अध्ययनमा ४ हजार पुरुष र महिलालाई सामेल गरिएको थियो, जो पहिलो हृदयघातबाट बाँचेर आएका थिए ।
उनीहरुमाथि लगातार ९ वर्षसम्म अध्ययनपश्चात उक्त रिपोर्ट तयार पारिएको हो । यसबीच ६८२ महिला र ४५१ पुरुषको मृत्यु भएको अध्ययनमा उल्लेख रहेको छ । निष्कर्षमा पहिलो अट्याकको ९ वर्षसम्म केवल उनीहरुमात्र जीवित रहे जो धेरै मात्रामा रेशेदार आहार लिएका थिए । उनीहरुले खासमा खाजामा समेत अनाजको सेवन गरेका थिए ।
ब्रिटिश हर्ट फाउन्डेशनका विक्टोरिया टेलरका अनुसार उच्च रेशायुक्त खाद्य पदार्थ स्वस्थ सन्तुलित आहारको महत्वपूर्ण हिस्सा हो । अध्ययनले पनि धेरै मात्रामा रेशायुक्त खाना खाने व्यक्तिमा मृत्युको खतरा २५ प्रतिशत कम हुने उल्लेख गरेको छ । साथै उच्च रेशायुक्त आहार सेवन गर्ने समूहमा घातक हृदयघातको खतरा १३ प्रतिशत कम पाइएको अध्ययनमा उल्लेख रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं