सूचनाको शक्ति - The Power Of Information

        

चार प्रतिशत बालबालिकामा दृष्टिदोष

नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । परीक्षण गरिएमध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहाका सात लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । आँखा परिक्षणपछि समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए ।

परियोजनामार्फत चार वर्षमा दुई हजार ५५५ वटा निजी तथा सामुदायिक विद्यालयमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३८० जना बालबालिकालाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले जानकारी दिए ।

शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएका चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहज नहुने र लजाउनेजस्ता कारणले पनि बालबालिकाले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ,’ शाहले भने ।

यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट प्रभावित विद्यार्थीको शैक्षिक स्तरमा उन्नति र दैनिकीमा समेत धेरै परिवर्तन आएको उनले दाबी गरे । नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत यी जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोही पनि नागरिक पहुँच र पैसा अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायसँगको सहकार्यमा देशैभर विभिन्न निःशुल्क शिविर आयोजना गरिरहेको संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए । परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यालयका भिजन एम्ब्यास्डरलाई आँखा जाँचसम्बन्धी आधारभूत तालिमसमेत दिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०७:३४