जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुन साता दिनमा पश्चिम पुग्नुपथ्र्यो । तर, आधा भागमै पुगेर अड्किएको छ । गत वर्ष पनि यस्तै भएको थियो । गत वर्ष पश्चिमतिर खडेरीले धान रोप्ने ढिला भएको थियो । यसपटक पनि अगाडि बढ्न सकिरहेको छैन ।
‘मनसुन विकास हुनलाई विभिन्न खालका ‘ट्रिगरिङ फ्याक्टर’ हुन्छन् । जुन लेभलमा ‘हिटिङ’ हुनुपर्ने हो । त्यो लेभलमा हिटिङ भएको छैन,’ कँडेलले भनिन् ‘अरू विभिन्न सिस्टम आइदिनाले पनि यस्तो भयो । नियमित प्रगति हुनुपर्ने थियो । नभएर अड्केको हो ।’
अत्यधिक वर्षा २०१७ मा भएको थियो । विभागसँग सन् २०२१ र २०२२ को तथ्यांक अपडेट भएको छैन । तर, सन् २०२० सम्मको रेकर्डमा सबैभन्दा भारी वर्षा हेटौंडामा भएको छ । सन् २०१७ को अगस्ट १३ मा त्यहाँ अत्यधिक वर्षा भएको थियो ।
त्यतिबेला ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो । त्यसैगरी सन् २००० को जुलाई १ मा कञ्चनपुरको हनुमाननगरमा ५०० मिलिमिटर वर्षा मापन भएको थियो । कर्णालीको चिसापानीमा सन् २०१४ को अगस्ट १५ मा ४९९.८ मिमि वर्षा भएको थियो । उक्त समयमा पश्चिममा एकदमै ठूलो बाढीपहिरो आएको थियो ।
त्यसैगरी गुल्मीको रिडी बजारमा सन् २०२० सेप्टेम्बर १९ मा ४८८.३ वर्षा मापन भएको थियो । प्युठानको फुल्कीमा सन् २००९ को जुलाई २७ मा ४८८ मिमि वर्षा भएको थियो । हरिहरपुरगढी भ्याली, सिन्धुलीमा सन् १९९३ जुलाई २० मा ४८२.२ वर्षा भएको थियो भयो ४५० मिलिमिटरभन्दा बढी वर्षा भएका थुप्रै ठाउँ र दिनहरू विभागका रेकर्डमा छन् ।
तर, असार ५ मा संखुवासभाको नुममा आएको ३८७ मिलिमिटर पनि धेरै ठूलो पानी हो । कँडेलका अनुसार त्यहाँ दुई घण्टामा १८३ मिलिमिटर वर्षा भएको थियो । उक्त वर्षा एकदमै ठूलो भएको उनले बताइन् । दुई घण्टामा १८३ पानी पर्दा जुनसुकै ठाउँहरू डुब्छन् । त्यसले पहाडमा पहिरो ल्याउँछ । खहरेहरू बढ्छन् । गे्रगान बढी ल्याउँछ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनमा यतिका वर्षा हुनु सामान्य मौसमी प्रणालीअनुसार नै भएको बताउँछन् । तर, ट्रपिकल साइक्लोनले नेपालमा पनि असर गरेको उनको भनाइ छ । जसको असरले पूर्वमा धेरै पानी परेको छ ।
पश्चिम नेपालमा अझै राम्ररी पानी परेको छैन । ‘मध्यपहाडी क्षेत्रमा अब कम्तीमा दुई दिन ब्रेक लाग्ने भएको छ । काठमाडौंमा पनि बिहीबारसम्म पानी पर्ने देखिन्न,’ पोखरेलले भने ‘पर्सिदेखि थोरै देखिएको छ । बुधबार मधेस प्रदेशमा राम्रै पानी परेको हुनुपर्छ ।’
विभागका वरिष्ठ मौसमविद् कँडेलले पनि अरवियन ‘सी’मा आएको ‘विपरजोय चक्रवात’का कारण नेपालको मनसुन प्रणालीमा प्रभाव पारेको अनुमान हुँदै आएको बताइन् । त्यसको असर अझै देखिएको छ । त्यसले मनसुनको विकास हुने क्रमलाई प्रभावित बनाए पनि हाल लुम्बिनीतिर पानी पर्न थालेको उनले बताइन् ।
सत्यपाटी संवाददाता । काठमाडौं