सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय योग दिवस: कोहलपुरमा प्रभातफेरी

अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा कोहलपुर नगरपालिकाले बुधवार बिहान प्रभातफेरी एवम् योग जागरण र्याली गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो । माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।

त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:३१