सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेका सबै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अब पालिकाको अनुगमन निरन्तर गरिने

बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।

घोषणा हुन बाँकी रहेको राप्तीसोनारी गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएपछि अब जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकादेखि सबैभन्दा सुगम नेपालगञ्ज उपमहानगरपालिका लगायत सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए । उनले जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको जनाउँदै अब ती पालिकाको अनुगमन निरन्तर गरिने बताए ।

फोकल पर्सन श्रेष्ठले जिल्लाका सबै पालिकाले खोपका सबै मापदण्ड पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताए । स्वास्थ्य कार्यालयका अनुसार सबै पालिकामा खोप लगाउने उमेर समूहका छुटेका बालबालिकालाई खोजेर खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले उपमहानगरभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका एक सय ७७ गरी आठ सय ६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार १६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताए । उनले यो घोषणालाई सधैँ कायम राख्न जिल्लाका सबै पालिकामा कुनैपनि बालबालिका खोपबाट वञ्चित नहुन भन्नेतर्फ गम्भीर हुन आवश्यक रहेको बताए ।

बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:१०