सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो ।
डडेलधुराबाट बझाङ जाँदै गरेको मन्त्री सिंहसहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडि मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो ।
दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो । मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेज पुर्याइएकोमा उपचारका क्रममा निधन भएको थियो ।
प्रदेश सरकारले मन्त्री सिंहको निधनको शोकमा बुधबार सुदूरपश्चिम प्रदेश भरका सरकारी तथा सार्वजनिक कार्यालय नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं