सूचनाको शक्ति - The Power Of Information

        

संकटतिर एकीकृत समाजवादी

समाजवादीका सांसदहरू ‘विद्रोहको मनस्थितिमा’, माधव नेपाललाई ‘चुनौती’

के झलनाथ खनालले असन्तुष्ट सांसदलाई आडभरोसा दिएका हुन् ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई चारदलीय समाजवादी मोर्चामा सहभागी गराएका छन् । आआफ्नै बाध्यता र स्वार्थका कारण सहभागी दलहरूले अन्ततः एउटै पार्टी बनाउने उद्देश्यअनुरूप त्यसो गरेको कतिपयको विश्लेषण पाइन्छ ।

तर त्यसमा सहभागी एउटा दल नेकपा एकीकृत समाजवादीभित्र सम्भावित विग्रहको तरङ्ग उत्पन्न सुरु हुन थालेको देखिएको छ । प्रतिनिधिसभाको बैठकमै यथास्थितिमा बजेटको पक्षमा भोट हाल्न नसक्ने चेतावनी दिएका सांसदहरू अझै पनि त्यही अडान छन् ।

पार्टीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डले बजेटलाई साथ नदिने अडान दोहोर्याउँदै आएका छन् । बजेट विनियोजन र बनाइएका योजना ‘असन्तुलित, वितरणमुखी र मन्त्रीमुखी’ भएको लगायतका आरोप असन्तुष्ट सांसदहरूको छ ।

माधव नेपाललाई ‘चुनौती’ ?

नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टिको आवाज सुनिएपछि प्रधानमन्त्री प्रचण्डले जेठ ३० गते नेता माधव नेपालसहित सत्तारूढ गठबन्धनका केही नेतासँग छलफल गरेका थिए । मन्त्री तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाका अनुसार प्रधानमन्त्री र सरकारको तर्फबाट असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यसैले उनी बजेट पारित हुनेमा ढुक्क छन् । तर सांसद पाण्डले त्यसबाट चित्त नबुझाएको सङ्केत दिँदै आइतवार फेरि दोहोर्याए, ‘मैले आफ्नो पार्टीको अध्यक्ष माधव नेपाललाई अगाडि राखेर ‘भोट हाले तपाईँ एक्लै हाल्नुहोस्, हामी चाहिँ हाल्दैनौँ’ भनेर प्रधानमन्त्री र अर्थमन्त्रीकहाँ लगेर पनि भनेको छु ।’

पार्टीकै कतिपय नेताहरूमा उनले अध्यक्षलाई चुनौती दिएको बुझाइ पाइन्छ । तर कतिपयले त्यसलाई उनको ‘स्वभाव र शैलीअनुसारकै अभिव्यक्ति’को सङ्ज्ञा दिएका छन् । नेता पाण्डेले भने, ‘पार्टी त अध्यक्षको मात्रै त होइन नि । म पनि संसदीय दलको उपनेता हुँ ।’

सांसदहरू ‘कारबाही भोग्न तयार’

अध्यक्ष नेपाललाई ‘एक्लै’ र आफूहरूलाई ‘हामी’ भनेका नेता पाण्डेजस्तै के अन्य सांसद पनि बजेटको विपक्षमा उभिएलान् त ? सांसदहरू कृष्णकुमार श्रेष्ठ, अम्मरबहादुर थापा र भानुभक्त जोशीले प्रतिनिधिसभामै बजेटलाई समर्थन नगर्ने चेतावनी दिएका थिए ।

थापाले कुरा गर्दै पार्टीको निर्देशन नमान्ने दोहोर्याए । उनले भने, ‘मैले त पार्टी अध्यक्षलाई पहिल्यै मेरो पद लग्ने भने लैजानुस् म यथास्थितिमा भोट हाल्दिन् भनिसकेको छु ।’ अर्का सांसद भानुभक्त जोशीले ‘देशको जल्दाबल्दा समस्यालाई बेवास्ता गर्नुका साथै सङ्घीयताको मर्मविपरीत बजेट विनियोजन भएको’ भन्दै बजेटमा खोट देखाएका छन् ।

पार्टी र गठबन्धनमा छलफल गरेर निकास निकालिनेमा आशावादी देखिएका उनले भने, ‘तर जस्ताको त्यस्तै बजेट पारित हुँदैन ।’ संसदीय दलका उपनेता समेत रहेका सांसद पाण्डेले त कारबाही गर्ने ‘कसैको तागत नभएको’ बताए । उनले भने, ‘बजेट संशोधन भएका जति प्रमाण दिन पनि तयार छु । तर सांसद भनेका निरीह प्राणी हुन् भन्ने मानसिकता अन्त्य गर्नुपर्छ ।’

के झलनाथ खनालले असन्तुष्ट सांसदलाई आडभरोसा दिएका हुन् ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नै अप्ठेरो पर्नेगरी बजेटलाई लिएर आफ्ना सांसदहरूले आवाज उठाइरहँदा उक्त पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले त्यसलाई जायज ठानेका छन् । बजेट ‘न्यायोचित र आमूल परिवर्तनकारी’ नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँग बसेर त्यसको समाधान निकाल्नुाहेक अर्को विकल्प नदेखेको खनालले बताए । माग सम्बोधन नभए अडान नछाड्ने तर पार्टी छाड्न तयार रहेको कतिपय सांसदको अडानबारे जिज्ञासा राख्दा खनालले पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए । लगत्तै भने, ‘त्यो पनि नराम्रै अडान होइन ।’

पार्टी छाड्नेगरी राखिने अडान पनि राम्रो हो त भन्ने प्रश्नमा हाँस्दै खनालले भने, ‘मान्छेले गलत कुराविरुद्ध अडान लिन पाउँछ ।’ तपाईँको पनि उनीहरूलाई आडभरोसा छ भन्ने प्रतिप्रश्नमा खनालले सङ्क्षिप्त उत्तर दिए, ‘होइन, उहाँहरूको पनि यति बुझ्ने तागत त छ नि त ।’

एकीकृत समाजवादी विभाजित हुने डर कति ?

वरिष्ठ नेता मुकुन्द न्यौपाने लगायतका नेता एमाले फर्किएका छन् । माधव नेपालले पार्टीलाई अन्ततः माओवादीमै विलय गराउने भन्दै असन्तुष्टि जनाउनेहरू पनि उक्त दलमा छन् । ‘घर फर्किनेलाई उचित जिम्मेवारी र सम्मान दिने’ घोषणा गरेको एमालेले ७० वर्षको उमेर हद भर्खरै हटाएको छ ।

यही बेला एकीकृत समाजवादीमा देखिएको असन्तुष्टि विभाजनसम्म पुग्न सक्ने कतिपयको अनुमान छ । त्यो सम्भावनाबारे उक्त दलका उपमहासचिव गङ्गालाल तुलाधरले भने, ‘त्यहाँसम्म पुग्छ भन्ने चिन्ता छैन । तर हाम्रो अनुभवलाई ख्याल गर्दै असन्तुष्टिका आवाज सानो हुँदादेखिनै सम्बोधन गरिनुपर्छ ।’

उनले बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्न अध्यक्षले नै अगुवाइ र नेतृत्व गर्ने बताए । ‘बजेटका कतिपय कमजोरी सच्याउन उठाइएको आवाज सरकारविरुद्ध उपयोग हुने बिन्दुमा पुग्नु दुर्भाग्यपूर्ण हुने छ । त्यसैले समाधान निस्किन्छ भन्ने लाग्छ,’ तुलाधरले भने ।

बजेट संशोधन गर्दा गलत नजिर बस्ने भन्दै सरकारले कतिपय शीर्षकका बजेटपछि व्यावहारिक रूपमा हेरफेर र रकमान्तर गर्ने आश्वासन दिइरहेको छ । अहिलेसम्म असन्तुष्टहरूले शान्त हुने सङ्केत दिएका छैनन् ।

तर सांसद राजेन्द्र पाण्डेले पार्टीमा विग्रह निम्त्याउन वा सरकारलाई अप्ठेरोमा पार्ने उद्देश्यले आवाज नउठाएको जबाफ दिए । उनले बजेट निर्माणमा ‘सांसदको भूमिका सुनिश्चित गर्ने नयाँ परम्परा बसाउने’ दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०६:५३