सूचनाको शक्ति - The Power Of Information

        

रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन् ?

टीकापुर घटनामा तीन वटै अदालतबाट दोषी ठहर भएका पूर्वसांसद् रेशम चौधरीलाई राष्ट्रपतिले माफी दिएपछि उनले २०८४ सालको चुनावमा उठ्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिइरहेका छन् ।

मन्त्रिपरिषद्ले जेठ १२ र १४ गते गरेका दुई छुट्टाछुट्टै सिफारिसका आधारमा सरकारले गणतन्त्र दिवसका दिन रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेको थियो ।

राष्ट्रपतिका कानुनी सल्लाहकारले चौधरीलाई ‘पूर्ण माफी’ दिइएको बताउँदै उनी निर्वाचनमा उठ्न पाउने बताएका छन् ।

तर निर्वाचन आयोगले भने यस विषयमा निर्वाचन कार्यक्रमहरू सुरु हुँदाका बखतमा त्यस बेला नै सम्बन्धित अधिकारीहरूले निर्णय गर्ने भन्दै यति बेला ठोस प्रतिक्रिया दिन नसकिने जनाएको छ ।

चौधरीलाई दिइएको कैद सजाय माफीलाई लिएर उक्त घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले सर्वोच्चमा दर्ता गराएको रिट निवेदनको टुङ्गो लाग्न भने बाँकी छ ।

चौधरीको जन्मकैदको सजाय माफी दिँदा पीडितहरूसँग कुनै सहमति नलिइएको पनि उक्त रिट निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ०६:४२