बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा निधन भएको छ।
मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा कोहलपुर ल्याइएको थियो । सिंहसँगै कोहलपुर ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरले आज साँझ एक प्रेस विज्ञप्ती निकालेर ५ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा आज दिउँसो केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ